सन्दीप–कुशलको घातक बलिङ, युएई १२१ रनमै समेटियो
दोहा, कतार । एसिया कप राइजिङ स्टार्सअन्तर्गत आइतबार भएको खेलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपालको कसिलो बलिङसामु युएईको ब्याटिङ लाइनअप धराशायी बनेपछि टोली १२१ रनमै अलआउट भएको छ। यससँगै नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ।
दोहामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको हो।
युएईका लागि मोहम्मद साहदादले सर्वाधिक ४० रन बनाए। उनले ७० बलको सामना गरेका थिए। उनलाई कुशल भुर्तेलको बलमा नन्दन यादवले क्याच आउट गराए।
त्यस्तै, हरप्रित सिंहले ४८ बलमा ३२ रन तथा नरुल्लाह अयोयबीले २४ बलमा १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले तीन मेडन राख्दै मात्र ११ रन खर्चिए। यस्तै, कुशलले पाँच ओभरमा दुई मेडनसहित १५ रन दिए।
त्यसैगरी नन्दन यादव, रसिद खान र ललित राजवंशीले समान एक–एक विकेट लिए। ललितले पनि एक मेडन ओभर फाले।
नेपाली बलरहरूको अनुशासित र प्रभावशाली प्रदर्शनका कारण युएई सस्तैमा समेटिएको छ। अब नेपालले १२२ रनको लक्ष्य पछ्याउँदै जितका लागि मैदानमा उत्रिनेछ।
