नेपाली टोलीलाई समर्थन गर्न मैदानमा उपस्थित हुन एनआरएनए कतारका अध्यक्ष कृष्ण पन्थीको आग्रह।

महोत्तरी टुडे     

दोहा, कतार। कतारको राजधानी दोहामा शुक्रबारदेखि सुरु हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले कतारवासी नेपालीलाई मैदानमा उपस्थित हुन आग्रह गर्नुभएको छ।

 

प्रतियोगिताको पूर्वसन्ध्यामा विशेष सन्देश जारी गर्दै अध्यक्ष पन्थीले नेपाली टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूको हौसला बढाउन सम्पूर्ण नेपाली समुदायलाई एकजुट हुन अपिल गर्नुभएको हो।

 

उहाँले खेलकुद कुनै देश वा भाषामा सीमित नरहने साझा माध्यम भएको उल्लेख गर्दै खेलले विश्वभरका मानिसलाई एकताबद्ध बनाउने बताउनुभयो।

 

“खेल जुनसुकै देश र भाषी भए पनि सबैले बुझ्ने साझा भाषा हो। मैदानमा दर्शकले गर्ने समर्थन र तालीले खेलाडीमा थप ऊर्जा र आत्मविश्वास प्रदान गर्छ,” उहाँले भन्नुभयो।

 

प्रवासको व्यस्त जीवनका बाबजुद नेपालको प्रतिनिधित्व गर्दै कतारको मैदानमा प्रतिस्पर्धा गर्न उत्रिएका नेपाली खेलाडीलाई प्रत्यक्ष उपस्थित भएर हौसला प्रदान गर्नु सम्पूर्ण नेपालीको गौरव र जिम्मेवारी भएको अध्यक्ष पन्थीको भनाइ छ।

 

उहाँले नेपाली राष्ट्रिय टोलीको मनोबल उच्च बनाउन दोहामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई समय मिलाएर खेल मैदानमा उपस्थित भई नेपालको पक्षमा समर्थन जनाउन हार्दिक अनुरोध गर्नुभएको छ।

 

प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल शुक्रबार दिउँसो १ बजे भारत ‘ए’ विरुद्ध वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल्दैछ। त्यस्तै, नेपालले समूह चरणको दोस्रो खेल नोभेम्बर २२ मा यूएई र तेस्रो खेल नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने तालिका रहेको छ।

 

शुक्रबार सार्वजनिक बिदासमेत परेकाले नेपाली टोलीको समर्थनमा कतारस्थित नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।