कृष्ण पन्थीद्वारा नवौँ मध्यपूर्व सम्मेलनमा सहभागी हुन आग्रह, कतारलाई जिम्मेवारी दिएकोमा आभार व्यक्त।

महोत्तरी टुडे     

दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारका अध्यक्ष कृष्ण पन्थीले नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना गर्ने जिम्मेवारी कतारलाई प्रदान गरेकोमा एनआरएनएको केन्द्रीय नेतृत्व, मध्यपूर्व क्षेत्रीय समिति तथा मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्प्रति आभार व्यक्त गर्नुभएको छ। उहाँले आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा सहभागी हुन मध्यपूर्वसहित विश्वभर रहेका नेपाली संघसंस्था तथा अभियन्ताहरूलाई आग्रह गर्नुभएको छ।

 

आतिथ्य राष्ट्रको प्रमुखको हैसियतले विशेष सन्देश जारी गर्दै अध्यक्ष पन्थीले मध्यपूर्व क्षेत्रकै महत्वपूर्ण सम्मेलन आयोजना गर्ने अवसर र जिम्मेवारी कतारलाई सुम्पिएर विश्वास र समर्थन गरेकोमा सम्बन्धित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको हो।

 

उहाँले कतारलाई प्रदान गरिएको जिम्मेवारीलाई उत्कृष्ट आतिथ्य, व्यवस्थापन र समन्वयमार्फत सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दै सम्मेलनलाई भव्य, सभ्य र उपलब्धिमूलक बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ।

 

सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिँदै अध्यक्ष पन्थीले मध्यपूर्वका विभिन्न मुलुकमा रहेका एनसीसीका पदाधिकारी, श्रमिक अगुवा, सामाजिक अभियन्ता, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

 

अध्यक्ष पन्थीले डिसेम्बर ११ र १२ मा दोहामा उपस्थित भई सम्मेलनको सफलतामा योगदान पुर्‍याउन सबैलाई अनुरोध गर्दै कतारमा क्रियाशील नेपाली संघसंस्था, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायलाई एकताबद्ध भएर अतिथिहरूको स्वागत र सम्मेलन व्यवस्थापनमा सहयोग गर्नसमेत अपिल गर्नुभएको छ।

 

दोहास्थित र्‍याडिसन ब्लु होटलमा आयोजना हुने सम्मेलनले मध्यपूर्वमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र सद्भाव अभिवृद्धि गर्नुका साथै सुरक्षित श्रम आप्रवासन, श्रमिक अधिकार तथा प्रवासी नेपालीका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठान गर्ने अपेक्षा गरिएको छ।

 

सम्मेलनसम्बन्धी विवरण

कार्यक्रम: नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६

मिति: डिसेम्बर ११ र १२, २०२६

स्थान: र्‍याडिसन ब्लु होटल, दोहा, कतारनारा: सहयात्रा — Journey Together