सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित

आशिक हुसैन शेख     

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो। सुदूरपश्चिमका जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए। उनले आफ्नो इनिङ्समा चौका र छक्काको वर्षा गरेका थिए। विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिए।

लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाउँदा कप्तान रोहित पौडेलले ३० रन जोडेका थिए।

उपाधिसँगै सुदूरपश्चिमले एनपीएलको इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएको छ। यसअघि लगातार दुई संस्करणको फाइनलमा पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो।

यसअघि पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले र दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेका थिए।

एनपीएलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स नयाँ च्याम्पियन बनेको छ।