मधेशका मुख्यमन्त्रीमा धारा १६८ को ३ अनुसार जसपा का सरोज कुमार यादव नियुक्त
DK यादव-महोत्तरी, मङ्सिर ५ गते,
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादव पुनः नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालय मधेश प्रदेशले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार तोकिएको समयभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त भएको दाबी प्रदेश प्रमुखको कार्यालयमा पेस हुन नसकेपछि उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरिएको हो।

शुक्रबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गर्ने समय थप गर्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपासहितका दलहरूले प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए। तर, प्रदेश प्रमुखको कार्यालयले समय थप नगरी संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको हो।
सरोजकुमार यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनले यसअघि करिब एक वर्ष पाँच महिना मधेश प्रदेश सरकारको नेतृत्व गरेका थिए।
पुनः मुख्यमन्त्री नियुक्त भएसँगै यादवसमक्ष प्रदेशमा राजनीतिक स्थिरता कायम गर्ने, विकास निर्माणलाई गति दिने तथा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलगायतका क्षेत्रमा जनअपेक्षाअनुसार काम गर्ने चुनौती र अवसर रहेको छ।
शुक्रबार दिउँसो ४ बजेसम्म संविधानको धारा १६८(२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय तोकिएको थियो। तर, निर्धारित समयभित्र कुनै पनि दल वा गठबन्धनले बहुमतसहित सरकार गठनको दाबी पेस गर्न सकेन।
त्यसपछि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेर राजनीतिक सहमति जुटाउन थप समय माग गरेका थिए। उनीहरूले दलहरूबीच छलफल जारी रहेकाले केही दिन समय उपलब्ध गराउन आग्रह गरेका थिए।
तर, जसपा नेपालले भने निर्धारित समयभित्र बहुमतको दाबी पेस हुन नसकेपछि संविधानको धारा १६८(३) अनुसार प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेको थियो। प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले आफ्नो दलको संसदीय नेता मुख्यमन्त्री बन्नुपर्ने जसपा नेपालको माग थियो।
महोत्तरी टुडे | मधेश प्रदेश
