एक मिनेट बचाउन जिन्दगी नै दाउमा किन लगाउने? कतारको ट्राफिक नियम पालना गर्न एनआरएनएका अध्यक्ष कृष्ण पन्थीको अपिल
दोहा, कतार । कतारमा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन लागू गरिएका ट्राफिक नियमको पूर्ण पालना गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले सम्पूर्ण नेपाली समुदायलाई विशेष अपिल गर्नुभएको छ।
कतारको आन्तरिक मन्त्रालयले सडक सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडाइ गरिरहेको सन्दर्भमा अध्यक्ष पन्थीले कतारमा कार्यरत नेपाली श्रमिक, व्यवसायी, सवारी चालक तथा सम्पूर्ण नेपाली समुदायलाई सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो।
एक सन्देश जारी गर्दै उहाँले विदेशमा रहँदा आफू बसेको देशको कानुन र नियमको सम्मान गर्नु प्रत्येक नेपालीको दायित्व भएको उल्लेख गर्नुभएको छ। उहाँले ट्राफिक नियमलाई सामान्य विषयका रूपमा नलिई आफ्नो र अरूको जीवन सुरक्षासँग जोडिएको महत्वपूर्ण विषयका रूपमा लिन आग्रह गर्नुभएको छ।
विशेषगरी सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, अनिवार्य रूपमा सिट बेल्ट लगाउन, निर्धारित गति सीमाभित्र सवारी सञ्चालन गर्न तथा ट्राफिक संकेत र सडक नियमको पूर्ण पालना गर्न उहाँले अनुरोध गर्नुभएको छ।
अध्यक्ष पन्थीले भन्नुभएको छ, “ड्राइभ गर्दा मोबाइल चलाउँदा बचत हुने भनेको त्यही एक मिनेट होला, तर जिन्दगी नै पूरै दाउमा लगाएर किन त्यस्तो गर्नु र? आफूसँगै आफ्नो आश्रित परिवारको पनि ख्याल गर्दै नयाँ नियम सतर्कतापूर्वक पालना गर्नुहोला।”
कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरू सवारी चालक, डेलिभरी तथा यातायात क्षेत्रमा कार्यरत रहेकाले उनीहरूलाई अझ बढी सतर्क र जिम्मेवार हुन उहाँले आग्रह गर्नुभएको छ। सानो लापरबाहीले आफ्नै जीवनसँगै अन्य सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पार्न सक्ने उहाँको भनाइ छ।
उहाँले ट्राफिक नियम पालना गर्नु जरिवानाबाट बच्ने माध्यम मात्र नभई सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्ने महत्वपूर्ण उपाय भएको बताउनुभएको छ।
अन्त्यमा अध्यक्ष पन्थीले सम्पूर्ण नेपाली समुदायलाई सुरक्षित यात्रा गर्न र जिम्मेवार सडक प्रयोगकर्ता बन्न आग्रह गर्दै भन्नुभएको छ, “एक मिनेट बचाउन जिन्दगी नै दाउमा किन लगाउने? सुरक्षित यात्रा गरौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ।”
कृष्ण पन्थी
अध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए)
राष्ट्रिय समन्वय परिषद्, कतार
