कतारमा लेकाली ब्यान्डको सांगीतिक धमाका, चर्चित गीतमा छमछमी झुमे दर्शक

आशिक हुसैन शेख     

दोहा,कतार 

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय लेकाली ब्यान्डले कतारमा धमाका मच्याएको छ । गण्डकी प्रदेश समन्वय परिषद् कतारले आयोजना गरेको शुभकामना-आदान प्रदान तथा बिशेष सांगीतिक कार्यक्रममा ब्यान्डले आफना चर्चित गीतमार्फत धमका मच्याएको हो ।
ब्यान्डले नजाउ न छोडी,तिम्रो लागी सधैँ,पहिलो नजर,देब्रे गाला,बाँच्न सक्दिनँ तिमी बिना,त्यो पारि डाँडैमा’
जस्ता दर्जनौँ लोकप्रिय गीत प्रस्तुत गरेको थियो। ब्यान्डका परिचित गीतको धुनसँगै हलमा दर्शकहरू गीत गुनगुनाउँदै छमछमी नाच्दै रमाएका थिए।

 

ब्याण्डले हलमा उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो ।
ब्यान्डले एकपछि अर्को लोकप्रिय गीत प्रस्तुत गर्दा कार्यक्रमस्थल नेपाली संगीतको माहोलले गुञ्जायमान बनेको थियो।

 

बिशेष गरेर पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका संगीतप्रेमीको मन जित्न सफल लेकाली ब्यान्डका गीतमा दर्शकको उत्साह र साथ देख्दा कतारमा नेपाली संगीतप्रतिको मोह प्रस्ट झल्किएको थियो। ब्यान्डको ऊर्जावान् प्रस्तुति र दर्शकको उत्साहले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो। लामो समयदेखि नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाएको लेकाली ब्यान्डको प्रत्यक्ष प्रस्तुति कतारवासी नेपालीका लागि मनोरञ्जनसँगै नेपाली संगीतसँग जोडिने विशेष अवसरसमेत बनेको थियो।

 

 

कतारमा रहेका नेपाली श्रमिकहरूको हकहित तथा आपत्कालीन सहयोगका लागि ‘श्रमिक कल्याणकारी कोष’ स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कलाकार सुधा परियारले स्वागत नृत्य पेश गरेकी थिइन् । परिषद्का उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्य पेश गर्दै कार्यक्रमको मुख्य उद्धेश्यका बारेमा प्रष्ट पारेका थिए । शुभकामना आदानप्रदान तथा बृहत् सांगीतिक कार्यक्रममा कतारमा रहेका एक दर्जन भन्दा बढी कलाकारहरुले गायन तथा नृत्य बिधामा आफ्नो प्रस्तुति दिएका थिए ।

 

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा रहेको भिक्टोरिया गोल्ड एन्ड डायमन्डका सञ्चालक मोहम्मद फैजल एनआरएनए पुर्व अध्यक्ष आरके शर्मालाई सम्मान गरिएको थियो ।
एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माले आफ्नो मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश समन्वय परिषद् कतारले मानवीय सहयोगका गतिविधिसँगै नेपाली श्रमिकको आर्थिक सशक्तीकरण, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए। श्रमिक कल्याणकारी कोष स्थापनाको उद्देश्यले कार्यक्रम आयोजना गरिनु सकारात्मक प्रयास भएको उल्लेख गर्दै उनले यस्ता अभियानलाई निरन्तरता दिन परिषद्लाई शुभकामना व्यक्त गरे।


कार्यक्रमको समापन पुर्व गण्डकी प्रदेश समन्वय परिषद् कतार, तमु गुरुङ समाज कतार, तमु प्ये ल्हु संघ शाखा कतार, कास्की आदर्श समाज कतार र अन्नपूर्ण बचत समूह कतार (कास्की) ले संयुक्त रूपमा लेकाली ब्यान्डका कलाकारहरूलाई स्टेजमै सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।

 


कार्यक्रमको समापन गर्दै गण्डकी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष नन्दलाल बिक (अजय) कतारमा रहेका नेपाली श्रमिकहरूको हक, हित र 
आपत्कालीन तथा कठिन परिस्थितिमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले श्रमिक कल्याणकारी कोष स्थापना गर्न कार्यक्रम आयोजना गरिएको बताए।

 

उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या र अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने श्रमिकहरूलाई आवश्यक परेको समयमा आर्थिक तथा मानवीय सहयोग पुर्‍याउन कोष प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे। साथै, कोष स्थापनाको अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र ऐक्यबद्धता जनाउने
सबैलाई कृतज्ञता व्यक्त गरे।कार्यक्रमको सहजीकरण परिषद्का महासचिव मन प्रसाद राना मगरले गरेका थिए ।