प्रवासी नेपालीका समस्या सरकारलाई थाहा छ, निरन्तर प्रश्न गरिरहनुस् : सञ्चारमन्त्री तिमिल्सिन
दोहा, कतार ।
नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रवासमा रहेका नेपालीका समस्या र पीडाबारे सरकार जानकार रहेको बताउँदै सरकारलाई निरन्तर प्रश्न गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्।
प्रवास नेपाली सम्पर्क विभाग कतारको आयोजनामा बुधबार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रवासी नेपालीले उठाएका प्रश्न र जिज्ञासालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए।
कार्यक्रममा सहभागीहरूले कतारमा रहेका नेपाली श्रमिकका समस्या, प्रवासी नेपालीका सरोकार, सरकारको कार्यशैली तथा स्वदेश फर्किने वातावरण निर्माणलगायत विषयमा मन्त्रीसमक्ष प्रश्न राखेका थिए।
सहभागीका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले आफू पनि करिब आठ–नौ वर्ष विदेशमा बसेर संघर्ष गरेको अनुभव सुनाउँदै प्रवासमा रहँदा देशप्रतिको माया झनै बढ्ने बताए। विदेशमा राम्रो आम्दानी र सुविधा भए पनि अधिकांश नेपालीको चाहना अन्ततः आफ्नै देश फर्किने रहेको उनको भनाइ थियो।
'तपाईंहरूले उठाउनुभएका मुद्दाबारे म पनि बेखबर छैन र सरकार पनि बेखबर छैन। तपाईंहरूका प्रश्न स्वाभाविक छन्। प्रश्न गर्नु तपाईंहरूको अधिकार हो भने त्यसको जवाफ दिनु हाम्रो जिम्मेवारी हो,' उनले भने।
उनले वर्तमान सरकारले तत्काल चमत्कार गर्नेभन्दा पनि बिग्रिएका संस्थागत संरचना सुधार्ने, नीति निर्माण गर्ने र देशलाई सही दिशामा अघि बढाउने काम गरिरहेको बताए। लामो समयदेखि कमजोर बनेका सरकारी निकायलाई व्यवस्थित गर्न समय लाग्ने उल्लेख गर्दै उनले सरकारले कामको परिणाम क्रमशः देखाउँदै जाने बताए।
मन्त्री तिमिल्सिनाले आफ्नो मन्त्रालयअन्तर्गत दूरसञ्चार, आमसञ्चार तथा प्रेस काउन्सिलसँग सम्बन्धित कानुन र नीतिमा सुधारको काम अघि बढिरहेको जानकारी दिए। विशेषगरी दूरसञ्चार क्षेत्र र सेक्युरिटी प्रिन्टिङ प्रेसजस्ता निकायमा विगतदेखि चल्दै आएका आर्थिक अनियमितता र बिचौलियाको प्रभाव अन्त्य गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।
'दूरसञ्चार क्षेत्रमा लाइसेन्स दिने, नदिने तथा विभिन्न निर्णयका नाममा अर्बौंको चलखेल हुने गरेको छ। त्यस्ता क्षेत्रलाई सफा गर्नु र संस्थागत सुधार गर्नु सजिलो छैन,' उनले भने।
उनले सरकारी निकायमा राजनीतिक पहुँचका आधारमा हुने नियुक्ति र बिचौलियाको प्रभावले संस्थाहरू कमजोर बनेको टिप्पणी गर्दै नीतिगत सुधार र पारदर्शितालाई प्राथमिकता दिइएको बताए। सरकारलाई गलत बाटोमा जान नदिन नागरिकले निरन्तर खबरदारी गर्नुपर्नेमा पनि उनले जोड दिए।
मन्त्री तिमिल्सिनाले आफूहरूलाई पाँच वर्षको जनादेश प्राप्त भएको उल्लेख गर्दै केही समयमै सबै नेपालीलाई स्वदेश फर्किने वातावरण बनाइदिने आश्वासन दिन नसकिने स्पष्ट पारे। तर देशमा रोजगारी र अवसर सिर्जना हुँदै जाँदा विदेशमा रहेका नेपाली आफैँ स्वदेश फर्किने वातावरण बन्ने उनको अपेक्षा थियो।
'म तपाईंहरूलाई आजको भोलि नै विदेश छोडेर नेपाल फर्किनुस् भन्दिनँ। देशमा अवसर सिर्जना हुँदै गएपछि नेपाली आफैँ फर्किनुहुन्छ। म पनि कसैले बोलाएर होइन, देशमा केही गर्नुपर्छ भन्ने लागेर अस्ट्रेलियाबाट नेपाल फर्किएको हुँ,' उनले भने।
उनले सरकारका काममा कमजोरी देखिए तत्काल प्रश्न गर्न र गलत कामलाई समर्थन नगर्न प्रवासी नेपालीलाई आग्रह गरे। सरकारलाई अन्धाधुन्ध समर्थन गर्नुभन्दा सही कामको प्रशंसा र गलत कामको आलोचना गर्नु नै वास्तविक खबरदारी भएको उनको भनाइ थियो।
'हामीलाई पाँच वर्षमा देशलाई गलत बाटोबाट निकालेर सही मार्गमा ल्याउन सक्यौँ भने त्यो नै ठूलो उपलब्धि हुनेछ। देश विकासका लागि चमत्कार होइन, सही नीति, इमानदार प्रयास र समय चाहिन्छ,' मन्त्री तिमिल्सिनाले भने।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले प्रवासी नेपालीका समस्या र सरकारका नीतिगत विषयमा जिज्ञासा राखेका थिए। मन्त्री तिमिल्सिनाले आफूले टिपोट गरेका प्रश्नहरूको समेत जवाफ दिँदै प्रवासमा रहेका नेपालीसँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए।
