मकवानपुरमा भीषण ईभी दुर्घटना : ३ महिला र २ बालिकासहित १० जनाको मृत्यु, ५ घाइते

महोत्तरी टुडे     

महोत्तरी टुडे-

मकवानपुरमा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा तीन महिला, दुई बालिका र पाँच पुरुष रहेका छन्।

हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान उक्त दुर्घटना भएको हो।

प्रहरीका अनुसार काठमाडौंवाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी गाडी सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो। उक्त गाडी बिहीबार बिहान सर्लाहीका यात्रु लिएर काठमाडौंवाट हिँडेको थियो।

दुर्घटनामा परी १० जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुल्न सकेको छैन। मृतकमध्ये अधिकांश सर्लाही जिल्लाका रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम खत्रीलगायत सुरक्षाकर्मी घटनास्थल पुगेर उद्धार कार्यमा खटिएका थिए। मृतकहरूको शव हेटौँडा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ८ किलोमिटर उत्तरमा पर्दछ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महोत्तरी टुडे परिवार दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।