सोनमा गाउँपालिकाद्वारा ७७ जनालाई साइकल वितरण, महिला स्वास्थ्य स्वयंसेविकादेखि नगर प्रहरीसम्म लाभान्वित!
DK यादव सोनमा महोत्तरी।
महोत्तरीको सोनमा गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविका, नगर प्रहरी तथा कार्यालय सहयोगीहरूलाई लक्षित गरी ७७ थान साइकल वितरण गरेको छ। दैनिक कार्यसम्पादन, सेवाग्राहीसम्म सहज पहुँच तथा आवतजावतमा देखिने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाले साइकल वितरण कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाको सभा हलमा २०८३ साल कात्तिक २५ गते आयोजित विशेष कार्यक्रमबीच गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले लाभग्राहीहरूलाई साइकल हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न भएको थियो।
गाउँपालिकाले समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविका, गाउँपालिकाको सुरक्षा तथा व्यवस्थापनमा खटिने नगर प्रहरी र दैनिक कार्यालय सञ्चालन तथा व्यवस्थापनमा सहयोग पुर्याउने कार्यालय सहयोगीहरूलाई लक्षित गरी साइकल वितरण गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले साइकल वितरणले सम्बन्धित कर्मचारी तथा महिला स्वयंसेविकाहरूको दैनिक जीवन र कार्यसम्पादनमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्षेत्रमा पुग्न, सेवाग्राहीसँग सम्पर्क गर्न तथा दैनिक आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले साइकल उपलब्ध गराइएको बताउनुभयो।
अध्यक्ष यादवका अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा खटिएर सेवा प्रदान गर्ने महिला स्वास्थ्य स्वयंसेविका, नगर प्रहरी तथा कार्यालय सहयोगीहरूको कामलाई सहज बनाउन यस्ता सहयोगमूलक कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्नेछ। स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारी तथा समुदायस्तरमा सेवा गर्ने व्यक्तिहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनु गाउँपालिकाको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो।
साइकल प्राप्त गरेपछि महिला स्वास्थ्य स्वयंसेविका सरिता यादवले खुसी व्यक्त गर्नुभयो। उहाँले साइकल प्राप्त हुँदा आफूलाई निकै खुसी लागेको बताउँदै यसले दैनिक आवतजावत तथा कार्यक्षेत्रमा पुग्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कामको महत्त्व बुझेर साइकल उपलब्ध गराएकोमा अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि यस्तै जनमुखी तथा वितरणमुखी कार्यक्रमहरू ल्याउन गाउँपालिका अध्यक्षलाई आग्रह गर्नुभयो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख, शिक्षा सहसंयोजक, योजना शाखाका प्रतिनिधि, रघुनाथपुर प्रहरी चौकीका प्रमुख, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले मातृ तथा शिशु स्वास्थ्य, स्वास्थ्य सचेतना, खोप कार्यक्रम र समुदायस्तरमा स्वास्थ्यसम्बन्धी सूचना प्रवाहमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। त्यस्तै नगर प्रहरी तथा कार्यालय सहयोगीहरूले पनि गाउँपालिकाको दैनिक सेवा सञ्चालन र व्यवस्थापनमा सहयोग पुर्याउँदै आएका छन्। यस्तो अवस्थामा साइकल वितरणले उनीहरूको कार्यक्षेत्रसम्मको पहुँच सहज बनाउनुका साथै समयको बचत र कार्यसम्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सोनमा गाउँपालिकाले ७७ जनालाई एकैसाथ साइकल वितरण गरेको यस कार्यक्रमलाई स्थानीय सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोडिएका जनशक्तिलाई सहयोग पुर्याउने कार्यक्रमका रूपमा हेरिएको छ।
