दलित एकता सञ्जाल नेपालको अगुवाइमा कतारमा नोभेम्बर १३ मा संयुक्त देउसी–भैलो कार्यक्रम हुन
दोहा, कतार। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व–२०२६ को अवसरमा कतारमा संयुक्त रूपमा शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ।
दलित एकता सञ्जाल नेपाल, कतार, विश्वकर्मा समाज कतार र परियार मित्रता समाज कतारको सांस्कृतिक विभागद्वारा संयुक्त रूपमा आयोजना हुने उक्त कार्यक्रम आगामी नोभेम्बर १३, २०२६ शुक्रबार का दिन एसियन टाउनस्थित लालिगुराँस रेस्टुरेन्टमा सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाली मौलिक कला, संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्नुका साथै कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा, एकता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदानका साथै नेपाली मौलिक संस्कृति झल्किने देउसी–भैलो प्रस्तुत गरिने आयोजकले जनाएको छ।
आयोजक संस्थाहरूले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ–संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूलाई संस्थागत प्रतिनिधित्वसहित कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा गरेका छन्।
नेपाली समुदायबीचको एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई अझ बलियो बनाउने विश्वासका साथ आयोजित यस कार्यक्रममा कतारमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन्।
कार्यक्रम विवरण:
- मिति: १३ नोभेम्बर २०२६, शुक्रबार
- स्थान: लालिगुराँस रेस्टुरेन्ट, एसियन टाउन, कतार
- कार्यक्रम: शुभकामना आदान–प्रदान तथा देउसी–भैलो कार्यक्रम–२०२६
आयोजक संस्थाहरू:
१. दलित एकता सञ्जाल नेपाल, कतार
२. विश्वकर्मा समाज कतार
३. परियार मित्रता समाज कतार
