एनपीएलः पोखराले तोड्यो हारको सिलसिला, कर्णालीविरुद्ध ६३ रनले विजयी
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१७ रनको विशाल योगफल बनाएको थियो।
पोखराका लागि युवराज सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। उनले प्रतियोगिताको तेस्रो सिजनमा पहिलो शतकसमेत प्रहार गरे। त्यस्तै, कुशल भुर्तेलले ३९ बलमा ६२ रन बनाए भने चमिका करुणारत्नेले ११ बलमा अविजित ३५ रनको योगदान दिए।
२१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली याक्स पोखराका बलरहरूविरुद्ध टिक्न नसक्दा ६३ रनले पराजित भयो।
पोखराका महेदी हसनले ३ विकेट लिए। कुशल भुर्तेल, धनञ्जय लक्षण र विपिन खत्रीले समान २–२ विकेट हात पारे।
यस जितसँगै पोखरा एभेन्जर्सले जारी एनपीएलमा लगातारको हारको सिलसिला तोड्दै पहिलो जित निकालेको छ। उत्कृष्ट शतक बनाएका युवराज सम्राको प्रदर्शन पोखराको जितमा निर्णायक बन्यो।
