रामेछाप सेवा समाजको देउसीभैलो: मौलिक कला, संस्कृति र पञ्चेबाजाले गाउँघरको झल्को
दोहा, कतार। कतारमा रहेका रामेछापवासीको साझा संस्था रामेछाप सेवा समाज कतारले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, परम्परा र संस्कृतिको जीवन्त झल्को प्रस्तुत गरेको छ। परम्परागत शैलीमा भट्याउँदै खेलिएको देउसीभैलोले कतारमा रहेका नेपालीलाई गाउँघरकै तिहारको अनुभूति गराएको थियो।
शुक्रबार कतारको प्लाजा मलस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा कलाकार रेश्मी सेन्चुरी र देवी कँडेलले मौलिक शैलीमा देउसी भट्याउँदै सांस्कृतिक रौनक थपेका थिए। उनीहरूले कात्तिके दान संकलन गर्नुका साथै प्रवासमा नेपाली कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणको सन्देशसमेत दिएका थिए।
कार्यक्रममा पुकार थापाले प्रस्तुत गरेको मौलिक मारुनी नृत्यले दर्शकको ध्यान आकर्षित गरेको थियो। त्यस्तै, गायिका निशु मगरलगायत कतारमा रहेका विभिन्न कलाकारले नेपाली मौलिकता बोकेका गीत तथा सांगीतिक प्रस्तुति दिएका थिए। पञ्चेबाजाको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
आयोजकका अनुसार देउसीभैलो कार्यक्रममार्फत दुई हजार कतारी रियालभन्दा बढी रकम संकलन भएको छ। कार्यक्रमले नेपाली चाडपर्वको सांस्कृतिक महत्वलाई प्रवासमा पनि जीवन्त राख्न सहयोग पुगेको आयोजकको विश्वास छ।
कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले प्रवासमा नेपाली संस्कृति र चाडपर्वको संरक्षण गर्दै कतारको कानुन पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिए। उनले कतारमा कार्यरत नेपाली श्रमिकलाई समयमै श्रम नवीकरण गर्न तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनसमेत आग्रह गरे।
रामेछाप सेवा समाज कतारका अध्यक्ष राजु थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कतारमा क्रियाशील विभिन्न संघसंस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधि, कलाकार, पत्रकार र रामेछापवासी नेपालीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा रहेर पनि नेपाली मौलिक चाडपर्व र संस्कृतिलाई जीवन्त राख्ने यस्ता गतिविधिको प्रशंसा गरेका थिए।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष राजु थापा मगरले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, अतिथिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार, सहयोगदाता, कार्यसमिति तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे। आफ्नो पहिलो कार्यक्रम भए पनि सबैको साथ र सहयोगले सफल भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भावको अपेक्षा गरे। कार्यक्रमका क्रममा भएका कमीकमजोरीलाई सुधार गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रममा सांस्कृतिक संयोजक समन खनालले स्वागत मन्तव्य राखेका थिए भने महासचिव प्रकाश दर्नाल ‘शीतल’ले कार्यक्रम सञ्चालन गरेका थिए।
प्रवासमा नेपाली पहिचान, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित आयोजित यस देउसीभैलो कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ।
