कतारमा गण्डकी प्रदेश समन्वय परिषद्को सांगीतिक तथा शुभकामना आदान–प्रदान कार्यक्रम नोभेम्बर २० मा हुने

आशिक हुसैन शेख     

दोहा, कतार। गण्डकी प्रदेश समन्वय परिषद् कतारले पूर्वनिर्धारित मितिमा स्थगित भएको बडा दसैँ, शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गर्न लागेको शुभकामना आदान–प्रदान तथा सांगीतिक कार्यक्रम आगामी नोभेम्बर २० तारिख शुक्रबार गर्ने भएको छ।

परिषद् र आबद्ध जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम यसअघि नोभेम्बर ६ तारिखका लागि तय गरिएको थियो। तर, परिषद्का अध्यक्ष श्री नन्दलाल बी.के. (अजय) माथि मातृशोक परेको तथा केही प्राविधिक कार्यहरू पनि पूर्णता नपुगेका कारण कार्यक्रम स्थगित गर्नुपरेको परिषद्ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

नयाँ मितिअनुसार कार्यक्रम नोभेम्बर २० शुक्रबारका दिन कतारको अल वुकैरस्थित DPS Monarch International School मा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा परिचित समूह ‘लेकाली’ को विशेष लाइभ सांगीतिक प्रस्तुति रहनेछ। साथै, नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले विविध सांस्कृतिक प्रस्तुतिसहित शुभकामना आदान–प्रदान गरिने आयोजकले जनाएको छ।

यसका साथै गण्डकी प्रदेश समन्वय परिषद् कतारको श्रमिक कल्याणकारी कोष स्थापनार्थ कार्यक्रम आयोजना गर्न लागिएको हो।

परिषद्ले यसअघि वितरण गरिएका निमन्त्रणा पत्रमा नोभेम्बर ६ मिति उल्लेख भए पनि मिति परिवर्तन भएकाले नोभेम्बर २० मा उपस्थितिका लागि कतारस्थित सम्पूर्ण नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, कलाकार, पत्रकार तथा नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रमको मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आयोजकले सम्पूर्ण नेपाली समुदायको साथ, सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

IMG_1001.jpeg