कतारमा श्रम संस्कृति महा-अभियानको प्रथम स्थापना दिवस तथा सांस्कृतिक कार्यक्रम नोभेम्बर ६ मा हुने
आशिक हुसैन शेख दोहा, कतार। श्रम संस्कृति पार्टी नेपालको भातृ संगठनका रूपमा रहेको श्रम संस्कृति महा-अभियान कतारले आफ्नो प्रथम स्थापना दिवस तथा नेपालीहरूको महान् चाडपर्वको अवसरमा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ।
‘प्रकृति, संस्कृति र प्रविधिको सन्तुलन, परिष्कृत समाजका लागि श्रम अभियान’ भन्ने मूल नारासहित अगाडि बढिरहेको अभियानले आगामी नोभेम्बर ६ शुक्रबारका दिन कतारको राजधानी दोहास्थित सनैयाको प्लाजा मलमा रहेको मेसक्याफे (MESSCAFE) रेस्टुरेन्टमा कार्यक्रम आयोजना गर्न लागेको हो।
आयोजकका अनुसार कार्यक्रम बिहान ११:३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा अभियानको प्रथम स्थापना दिवस मनाउनुका साथै नेपालीहरूको महान् चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
‘प्रकृति, संस्कृति र प्रविधिको अन्तरसम्बन्ध नै जीवन हो’ भन्ने मान्यतालाई आत्मसात् गर्दै आएको अभियानले श्रमको सम्मान, मौलिक संस्कृति संरक्षण, सामाजिक सद्भाव र परिष्कृत समाज निर्माणको सन्देश प्रवासमा समेत फैलाउने उद्देश्य राखेको छ।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, भाषा, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले कतारमा रहेका नेपालीहरूबीच आपसी एकता, भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
श्रम संस्कृति महा-अभियान कतारले कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, कलाकार तथा नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।
कार्यक्रम विवरण:
कार्यक्रम: प्रथम स्थापना दिवस तथा शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम–२०२६
मिति: ६ नोभेम्बर २०२६, शुक्रबार
समय: बिहान ११:३० बजे
स्थान: मेसक्याफे (MESSCAFE) रेस्टुरेन्ट, प्लाजा मल, सनैया, कतार
आयोजक: श्रम संस्कृति महा-अभियान कतार
