दोहामा एनआरएनएको ९औँ मध्यपूर्व सम्मेलनको तयारी तीव्र, सहकार्यमा जोडिँदै संघका अगुवा र व्यवसायी

महोत्तरी टुडे     

दोहा, कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औँ मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी तीव्र बन्दै गएको छ। आगामी डिसेम्बर ११ र १२ मा कतारको राजधानी दोहामा आयोजना हुने सम्मेलनमा विभिन्न तहका पदाधिकारी, व्यवसायी तथा सामाजिक व्यक्तित्वहरू कार्यक्रम साझेदार र प्रायोजकका रूपमा जोडिने क्रम बढेसँगै आयोजकमा थप उत्साह देखिएको छ।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, अधिकार, सुरक्षित वैदेशिक रोजगारी र सामाजिक सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउने लक्ष्य राखेको छ। सम्मेलनलाई क्षेत्रीय स्तरमा नेपाली समुदायका साझा सरोकार र श्रमिकका मुद्दामा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

आयोजक समितिका अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन सम्मेलनको ‘इभेन्ट पार्टनर’ का रूपमा जोडिएका छन्। त्यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष बुद्धिसागर सुवेदी ‘को–इभेन्ट पार्टनर’ तथा अर्का उपाध्यक्ष खगेन्द्र न्यौपाने ‘प्लाटिनम पार्टनर’ का रूपमा सहकार्य गरिरहेका छन्।

यसैगरी, सम्मेलनको मुख्य प्रायोजक अर्थात् ‘प्लाटिनम स्पोन्सर’ का रूपमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान र मध्यपूर्व क्षेत्रीय संयोजक तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठ जोडिएका छन्।

 

संघको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहमा जिम्मेवारी सम्हालिरहेका पदाधिकारीहरू नै साझेदारी र प्रायोजनमार्फत सम्मेलनसँग जोडिनुले कार्यक्रमप्रतिको संस्थागत प्रतिबद्धता र सहकार्यलाई थप बल पुगेको आयोजकको विश्वास छ। उनीहरूको सहभागिताले सम्मेलनको तयारीलाई आर्थिक तथा नैतिक सहयोग मात्र नभई थप उत्साह र ऊर्जा प्रदान गरेको छ।

 

मध्यपूर्वका विभिन्न मुलुकमा कार्यरत नेपाली श्रमिकका साझा समस्या, श्रम अधिकार, सुरक्षित आप्रवासन र भविष्यका सम्भावनाबारे साझा धारणा निर्माण गर्नु सम्मेलनको महत्वपूर्ण उद्देश्य रहेको छ। यसका साथै नेपाली समुदायबीच आपसी एकता, सहकार्य र संस्थागत समन्वयलाई थप सुदृढ बनाउने विषयलाई पनि सम्मेलनले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।

 

सम्मेलनलाई सफल बनाउन आर्थिक, नैतिक तथा संस्थागत रूपमा सहकार्य गर्ने साझेदार र प्रायोजकहरूप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ। सम्मेलनको मिति नजिकिँदै जाँदा अन्य संघसंस्था, व्यावसायिक प्रतिष्ठान तथा सामाजिक व्यक्तित्वहरू पनि सहकार्यका लागि जोडिने क्रम जारी रहेको आयोजकले जनाएको छ।

 

आयोजक समितिले सबै पक्षको साथ, सहयोग र सहभागिताबाट सम्मेलनलाई व्यवस्थित, उपलब्धिमूलक तथा प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

IMG-20261104-WA0002.jpgIMG-20261104-WA0001.jpgIMG-20261104-WA0000.jpgIMG-20261104-WA0006.jpgIMG-20261104-WA0004.jpgIMG-20261104-WA0003.jpgIMG-20261104-WA0008.jpgIMG-20261104-WA0007.jpgIMG-20261104-WA0005.jpg