सुनसरीमा अनिश्चितकालीन कर्फ्यु, इटहरा बजार क्षेत्रमा आवतजावत र सबै प्रकारका गतिविधिमा रोक
सुनसरी, साउन १२ — जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले इटहरा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्री प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार २०८३ साउन १२ गते दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो।
आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा अन्य कुनै पनि प्रकारका गतिविधि सञ्चालन गर्न नपाउने उल्लेख गरिएको छ।
प्रशासनले कर्फ्यु क्षेत्रको सीमा पनि तोकेको छ। जसअनुसार पूर्वमा पक्कली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुनेछ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेको छ।
यसअघि सुनसरीका विभिन्न क्षेत्रमा भएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

