कतारमा सामूहिक तीज उत्सवको तयारी तीव्र, शान्तिश्री परियारको विशेष प्रस्तुति रहने

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा (कतार)। हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै कतारमा ‘रमाइलो तीज विशेष तथा विविध सांस्कृतिक कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ। नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ (एनआरएनए–एनसीसी) कतारको महिला विभागको समन्वयमा तथा कतारस्थित विभिन्न नेपाली संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो।

IMG-20260725-WA0989.jpg

आयोजकले शुक्रबार दोहाको मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो। कार्यक्रम सञ्चालनका लागि ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जनाइएको छ।

 

कार्यक्रम आगामी ४ सेप्टेम्बर २०२६ मा कतारको वकिरस्थित डीपीएस मोनार्क इन्टरनेसनल स्कुलको सभाहलमा आयोजना हुनेछ। नेपाली समुदायबीच तीज पर्वको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

IMG-20260725-WA0983.jpg

नेपाली महिला समाज कतारकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक मेनुका भण्डारीले यस वर्षको कार्यक्रम विगतका वर्षभन्दा थप व्यवस्थित, मौलिक र सहभागितामूलक हुने बताइन्। महिलाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने पुरुषका लागि ३० कतारी रियाल प्रवेश शुल्क तोकिएको छ। कार्यक्रममा सहभागी हुन प्रवेश पास अनिवार्य गरिएको छ।

IMG-20260725-WA0999.jpg

पत्रकार सम्मेलनमा एनआरएनए–एनसीसी कतारका सांस्कृतिक विभाग संयोजक जनक थापा मगरले तीजको मौलिक संस्कृतिलाई केन्द्रमा राखेर एकल तथा सामूहिक नृत्य, तीज गीत र स्थानीय कलाकारहरूको प्रस्तुति रहने जानकारी दिए। उनले नेपालकी चर्चित लोक तथा दोहोरी गायिका शान्तिश्री परियारको विशेष सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुने बताए।

IMG-20260725-WA0997.jpg

कार्यक्रमका आर्थिक संयोजक तथा एनआरएनए–एनसीसी कतारका उपाध्यक्ष सन्तोष पौडेलका अनुसार कार्यक्रमको अनुमानित बजेट करिब ४० हजार कतारी रियाल रहेको छ। बचत हुने रकम पूर्ण पारदर्शिताका साथ दुवै संस्थाको कोषमा जम्मा गरी कतारमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधान तथा उद्धार कार्यमा खर्च गरिने उनले जानकारी दिए।

 

कार्यक्रमको मुख्य प्रायोजक भिक्टोरिया गोल्ड एन्ड डायमन रहेको छ। एनआरएनए–एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले कार्यक्रममा नेपाली महिलाका लागि कानुनी साक्षरता, मानसिक स्वास्थ्य तथा श्रम अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत समावेश गरिने जानकारी दिए।

 

पत्रकार सम्मेलनमा आयोजकले कतारमा रहेका विभिन्न नेपाली संघ–संस्थालाई सहआयोजकका रूपमा सहभागी हुन आह्वान गर्दै नेपाली समुदायलाई कार्यक्रमलाई भव्य र सफल बनाउन सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।