ककरोच जनता पार्टीले आन्दोलन फिर्ता लियो, माग कार्यान्वयनका लागि सरकारलाई ४ हप्ताको समय।
नयाँ दिल्ली | राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (NEET) प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर देशभर सञ्चालन गरिएको आन्दोलन ककरोच जनता पार्टी (CJP) ले फिर्ता लिएको घोषणा गरेको छ। सरकारसँग भएको सहमतिपछि पार्टीले आफ्ना माग कार्यान्वयनका लागि ४ हप्ताको समय दिने निर्णय गरेको जनाएको हो।
पार्टीका अनुसार आन्दोलनका क्रममा उठाइएका प्रमुख मागहरूमा सरकार सकारात्मक बनेको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिइसकेका छन् भने पक्राउ परेका विद्यार्थीहरूलाई रिहा गर्ने तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको जनाइएको छ।
ककरोच जनता पार्टीले सरकारले गरेको प्रतिबद्धता कार्यान्वयन हुन्छ भन्ने विश्वासका साथ तत्कालका लागि आन्दोलन स्थगित गरिएको जनाएको छ। यद्यपि, तोकिएको ४ हप्ताभित्र सहमति कार्यान्वयन नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी पनि पार्टीले दिएको छ।
छ दिनसम्म लगातार चलेको आन्दोलन नयाँ दिल्लीसहित भारतका विभिन्न प्रमुख शहरहरूमा फैलिएको थियो। आन्दोलनमा हजारौँ विद्यार्थी र सर्वसाधारण सहभागी भएका थिए। आन्दोलन फिर्ता लिएसँगै अधिकांश स्थानको जनजीवन सामान्य बन्दै गएको छ।
