एक पटकको नेपाली, सधैँको नेपाली’ मान्यताप्रति सरकार प्रतिबद्ध : अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकारको मान्यताप्रति विश्वस्त रहन आग्रह गर्दै नेपालको आर्थिक विकास र लगानी विस्तारमा सक्रिय साझेदार बन्न आह्वान गरेका छन्।
अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले सरकारले गैरआवासीय नेपाली (एनआरएन)सँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति अवलम्बन गरेको बताए।
‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ। त्यसमा ढुक्क हुनुहोस्,’ अर्थमन्त्री वाग्लेले भने। उनले प्रवासमा रहेका नेपालीलाई नेपालको विकास र लगानी विस्तारका ‘सद्भावना दूत’ को संज्ञा दिँदै सुशासन, आर्थिक सुधार र नयाँ लगानीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण तथा लगानी वातावरण सुधारका महत्त्वपूर्ण पहल गरिएको उल्लेख गर्दै नेपालमा वैदेशिक तथा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्ने सरकारको लक्ष्य रहेको बताए।
नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले अस्ट्रेलियासहित विदेशमा रहेका नेपालीलाई आफ्नै वा विदेशी लगानी नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे।
अर्थमन्त्री वाग्लेले एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता नयाँ अवधारणामार्फत प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको जानकारी दिए। साथै, सरकारी कोषभन्दा बाहिरका स्रोतसमेत परिचालन गरी अर्थतन्त्रको पुनरुत्थान गर्ने लक्ष्य रहेको उल्लेख गर्दै सरकारले थप गर्नुपर्ने सुधारका विषयमा प्रवासी नेपालीबाट सुझावसमेत मागेका छन्।
