विद्युत् महसुल र विद्युतीय उपकरणमा लाग्ने कर घटाउन एनआरएनए कतार अध्यक्ष कृष्ण पन्थीको सरकारसँग आग्रह

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (NCC) कतारका अध्यक्ष कृष्ण पन्थीले नेपाल सरकारलाई विद्युत् महसुलमा लगाइएको कर हटाउन तथा विद्युतीय उपकरणहरूको आयातमा लाग्ने कर उल्लेखनीय रूपमा घटाउन आग्रह गरेका छन्।

 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा लगाइएको कर फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन्। उनका अनुसार उक्त निर्णयले सरकार जनताको पक्षमा रहेको सकारात्मक सन्देश दिएको छ।

 

पन्थीले अब सरकारले विद्युत् महसुलमा लाग्ने कर हटाउने र विद्युतीय उपकरणको आयातमा कर घटाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। यसबाट नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगतर्फ प्रोत्साहन मिल्ने, पेट्रोलियम पदार्थमा निर्भरता घट्ने, वातावरण संरक्षणमा योगदान पुग्ने तथा दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रलाई समेत फाइदा पुग्ने उनको भनाइ छ।

 

उनले नेपालजस्तो विकासोन्मुख मुलुकमा जनतामाथि थप आर्थिक भार पार्नेभन्दा आधुनिक, स्वच्छ र विद्युतीय प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, हालको बजेटका केही व्यवस्था व्यवहारिकभन्दा पनि जनजीवनमा थप आर्थिक भार पर्ने खालका देखिएको भन्दै नीति निर्माण गर्दा जनताको क्रयशक्ति, देशको वास्तविक अवस्था र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।

 

समयमै यस्ता विषयमा पुनर्विचार गर्दै जनमैत्री, व्यवहारिक र दूरदर्शी निर्णय लिन उनले नेपाल सरकारसँग आग्रह गरेका छन्।