भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा, विद्यार्थी आन्दोलनपछि सरकार दबाबमा
नयाँ दिल्ली | राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतभर चर्किएको विद्यार्थी आन्दोलनपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न प्रमुख शहरमा लगातार छ दिनसम्म भएको आन्दोलनले सरकारमाथि तीव्र दबाब सिर्जना गरेपछि उनले राजीनामा दिएका हुन्।
प्रश्नपत्र चुहावटका कारण लाखौँ विद्यार्थी प्रभावित भएको र केही विद्यार्थीले आत्महत्यासमेत गरेको भन्दै विद्यार्थीहरू तथा कक्रोच जनता पार्टी (CJP) ले देशव्यापी आन्दोलन गरेका थिए। आन्दोलनकारीहरूले शिक्षामन्त्रीको राजीनामा, पक्राउ परेका विद्यार्थीहरूको निशर्त रिहाइ तथा प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनाका कारण ज्यान गुमाएका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखेका थिए।
आन्दोलन चर्किएसँगै सरकारका तर्फबाट जेपी नड्डा र राज्यमन्त्री जितेन्द्र सिंह तथा CJP का प्रतिनिधि सौरभ दास र आशुतोष रांकालेबीच वार्ता भएको थियो। त्यसपछि सरकार आन्दोलनकारीका मागप्रति सकारात्मक बनेको बताइएको छ।
राजीनामासँगै प्रदर्शनकारीले उठाएका तीनवटै प्रमुख माग पूरा भएको दाबी गरिएको छ। ती मागमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, पक्राउ परेका विद्यार्थीहरूको निशर्त रिहाइ तथा NEET प्रश्नपत्र चुहावटसँग सम्बन्धित घटनामा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय समावेश छन्।
आन्दोलनका समर्थकहरूले यसलाई विद्यार्थी एकता र जनदबाबको उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनीहरूले लोकतान्त्रिक व्यवस्थामा जनताको आवाज दमनभन्दा संवादमार्फत सम्बोधन हुनुपर्ने भन्दै सरकारहरू जनभावनाप्रति जिम्मेवार हुनुपर्ने बताएका छन्। साथै, स्वतन्त्र र जिम्मेवार सञ्चारमाध्यमले सत्य सूचना सम्प्रेषण गरेर लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा पनि व्यक्त गरेका छन्।
