महोत्तरीको सम्सीमा ३ वर्षीय बालक हत्या प्रकरण: १५ वर्षीया किशोरी नियन्त्रणमा

महोत्तरी टुडे     

महोत्तरी टुडे सम्सी- महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा ३ वर्षीय बालक मनीषकुमार यादवको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले १५ वर्षीया एक किशोरीलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ असार २२ गते घर नजिक खेल्ने क्रममा बेपत्ता भएका मनीषकुमार यादवको शव भोलिपल्ट स्थानीय पानी पोखरीमा फेला परेको थियो। बालकको दुवै हातमा लगाइएका सुनका बाला समेत हराएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ साल असार २२ गते साँझ करिब ५ बजे घरबाहिर खेलिरहेका मनिकेश कुमार यादव बेपत्ता भएका थिए। परिवार तथा प्रहरीले खोजतलास गर्ने क्रममा असार २४ गते साँझ गाउँकै एक पानी पोखरीमा बोराभित्र बालकको शव फेला परेको थियो। त्यसपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा एक १५ वर्षीया नाबालिकामाथि शंका लागेपछि साउन ५ गते उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। प्रारम्भिक बयानका क्रममा नाबालिकाले घटना दुर्घटनावश भएको स्वीकार गरेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार नाबालिका करिब ३० किलोग्राम मल बोकेर साइकलमा खेततर्फ जाँदै थिइन्। सोही क्रममा मुख्य सडकबाट भोला बाबा मन्दिरतर्फ जाने गल्लीमा विपरीत दिशाबाट दौडँदै आएका मनिकेश कुमार यादव साइकलको अगाडि आइपुगेका थिए। साइकलमा ब्रेक नभएको र पछाडि भारी भएका कारण नियन्त्रण गुम्दा बालकलाई ठक्कर लागेको तथा साइकलको दुवै चक्का बालकको छातीमाथिबाट गुज्रिएको प्रहरीको भनाइ छ।

घटनापछि बालकको मृत्यु भएको थाहा पाएपछि घटना लुकाउने उद्देश्यले शवलाई शिवम् सिमेन्टको बोरामा राखेर करिब ३०० मिटर टाढाको पानी पोखरीमा फालेको र बालकले लगाएका दुई थान चाँदीका बाला निकालेर लुकाएको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा प्रहरीले मृतकका दुई थान चाँदीका बाला र घटनामा प्रयोग भएको साइकल बरामद गरेको जनाएको छ।

प्रहरीले साउन ५ गते नाबालिकालाई नियन्त्रणमा लिएर महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रहरीको भनाइअनुसार घटनाको वास्तविकता र अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको छ।