युवाको भविष्यसँग खेलबाड गर्नेलाई उन्मुक्ति छैन : प्रधानमन्त्री मोदी

महोत्तरी टुडे     

काठमाडौं/नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणमा संलग्न व्यक्तिलाई छिटो र कडा सजाय सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत स्थापना गर्ने घोषणा गरेका छन्।

योग्यता तथा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावटको विरोधमा शिक्षा सुधारको माग गर्दै विभिन्न समूहले आन्दोलन गरिरहेका बेला प्रधानमन्त्री मोदीले बिहीबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

"हाम्रा युवाको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही हुन सक्दैन," मोदीले फेसबुकमा लेखेका छन्।

Screenshot_2026-07-23-07-37-33-99_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

उनले प्रश्नपत्र चुहावटसम्बन्धी मुद्दाको शीघ्र सुनुवाइ र कडा कारबाही सुनिश्चित गर्न फास्ट–ट्र्याक अदालत गठन गर्ने निर्णय गरिएको जानकारी दिँदै सम्बन्धित निकाय तथा अधिकारीहरूलाई आवश्यक सबै प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको बताएका छन्।

"विद्यार्थीहरूको हित संरक्षणका लागि सरकारले चाल्दै आएको कदमकै निरन्तरताका रूपमा यो महत्त्वपूर्ण निर्णय गरिएको हो," उनले उल्लेख गरेका छन्।

युवाको भविष्यसँग खेलबाड गर्ने जोसुकैलाई पनि उन्मुक्ति नदिइने चेतावनी दिँदै मोदीले भने, "हाम्रा युवाको भविष्यमा आघात पुर्‍याउने जोसुकैलाई पनि कुनै हालतमा छुट दिइने छैन।"