विजयनगरको वन क्षेत्रमा काठ तस्करी मौलायो : अवैध सिसौ काठसहित स–मिल सञ्चालक पक्राउ

महोत्तरी टुडे     

प्रिन्स मिश्रा कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले अवैध सिसौ (सिसम) काठ बरामद गरेको छ । सोमबार बिहान करिब १० बजे काठसहित घटनामा संलग्न रहेको आरोपमा स–मिलका सञ्चालक ५२ वर्षीय कृष्णनगर–२ बस्ने मक्सुदन शाहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार विजयनगर गाउँपालिका–७ गेरुवाजोतदेखि भारतको परसरामपुर जाने सडक खण्डअन्तर्गत नेपालतर्फ रहेको निशा तथा काठ मिल उद्योगमा छापा मारेको थियो ।

 

 

उक्त क्रममा लुकाइछिपाई राखिएको ७ वटा साइकलसहित ९ वटा सिसौ काठका गोलिया फेला पारेको हो । बरामद गरिएको काठ करिब ११० क्युबिक फिट रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

 

बरामद काठसहित नियन्त्रणमा लिएका स–मिल सञ्चालकलाई समेत आवश्यक कारबाहीको लागि सव– डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको जनाइएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यले जानकारी दिए ।