एनआरएनए एनसीसी कतारद्वारा कतारका पूर्व अमिरप्रति श्रद्धाञ्जली, शोक वक्त

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा (कतार), जुलाई १२- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले कतारका पूर्व अमिर तथा राष्ट्रनिर्माणका प्रमुख अभियन्ता महामहिम शेख हमद बिन खलिफा अल थानी को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आधिकारिक शोक वक्तव्य जारी गरेको छ।

 

एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी द्वारा जारी वक्तव्यमा स्वर्गीय पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीलाई आधुनिक कतारका परिकल्पनाकार, दूरदर्शी तथा असाधारण नेतृत्वकर्ता भन्दै उहाँको नेतृत्वमा कतारले आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य तथा पूर्वाधार विकासका क्षेत्रमा विश्वकै उदाहरणीय राष्ट्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ।

 

वक्तव्यमा उहाँले राष्ट्रको समृद्धि, सुशासन, मानव विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान सधैं स्मरणीय रहने जनाउँदै उहाँको प्रेरणादायी नेतृत्वले आगामी पुस्तालाई समेत मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरिएको छ।

 

एनआरएनए एनसीसी कतारले वर्तमान अमिर महामहिम शेख तामिम बिन हमद अल थानी, शाही परिवार, कतार सरकार तथा सम्पूर्ण कतारी नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै राष्ट्रिय शोकको यस घडीमा नेपाली समुदाय कतारवासीसँग ऐक्यबद्ध रहेको जनाएको छ।

 

साथै, कतारको विकास र समृद्धिमा स्वर्गीय पूर्व अमिरले पुर्‍याएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिका लागि सर्वशक्तिमान अल्लाहसँग दुआ गरिएको छ। वक्तव्यमा अल्लाहले उहाँलाई जन्नतुल फिरदौसमा उच्च स्थान प्रदान गरून् तथा शोकसन्तप्त शाही परिवार र सम्पूर्ण कतारी जनतालाई धैर्य, शक्ति र सान्त्वना प्रदान गरून् भन्ने प्रार्थना गरिएको छ।

FB_IMG_1783846804941.jpg