कतारमा चार दिन राष्ट्रिय शोक घोषणा, सरकारी कार्यालय १९ जुलाईदेखि खुल्ने

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार।

कतारका पूर्व अमिर तथा फादर अमिर महामहिम शेख हमद बिन खलिफा अल थानीको निधनप्रति शोक व्यक्त गर्दै अमिरी दिवानले देशभर चार दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

अमिरी दिवानद्वारा जारी विज्ञप्तिअनुसार सोमबार, १३ जुलाई २०२६ देखि सरकारी मन्त्रालय तथा सबै सार्वजनिक संस्थाहरूमा कामकाज स्थगित रहनेछ। सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू आइतबार, १९ जुलाई २०२६ देखि नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ।

राष्ट्रिय शोक अवधिभर देशभरका सबै सरकारी भवन तथा सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यवस्था गरिएको छ।

महामहिम शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा आइतबार निधन भएको थियो। उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारका अमिरका रूपमा नेतृत्व गर्दै देशलाई आधुनिक, समृद्ध र विश्वमा प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

उहाँको निधनप्रति कतारभित्र तथा अन्तर्राष्ट्रिय समुदायबाट गहिरो दुःख व्यक्त गरिएको छ। विभिन्न राष्ट्रका सरकार, कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संघसंस्था तथा आप्रवासी समुदायहरूले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त शाही परिवार, कतार सरकार तथा सम्पूर्ण कतारी जनताप्रति समवेदना व्यक्त गरिरहेका छन्।