कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- कतारका पूर्व अमिर तथा आधुनिक कतारका निर्माता मानिने शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ। कतार सरकारले आधिकारिक रूपमा उहाँको निधनको पुष्टि गरेको हो।

 

शेख हमदले सन् १९९५ देखि २०१३ सम्म कतारको अमिरका रूपमा नेतृत्व गर्नुभएको थियो। उहाँको नेतृत्वमा कतारले प्राकृतिक ग्यासबाट प्राप्त आम्दानीलाई प्रभावकारी रूपमा उपयोग गर्दै तीव्र आर्थिक विकास हासिल गरेको थियो। साथै, शिक्षा, स्वास्थ्य, पूर्वाधार, लगानी, कूटनीति तथा सञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै कतारलाई विश्वको प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न उहाँको महत्वपूर्ण योगदान रहेको मानिन्छ।

 

उहाँकै पहलमा सन् १९९६ मा अल जजीरा इन्टरनेशनल नेटवर्क स्थापना भएको थियो, जसले अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा कतारको प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

 

सन् २०१३ मा उहाँले स्वेच्छाले आफ्नो उत्तराधिकारी तथा छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। हाल शेख तमिम नै कतारका अमिर हुनुहुन्छ।

 

शेख हमदको निधनसँगै कतारले आफ्नो आधुनिक इतिहासका एक दूरदर्शी तथा प्रभावशाली नेता गुमाएको छ। उहाँको नेतृत्व, विकासप्रतिको दृष्टिकोण र राष्ट्र निर्माणमा पुर्‍याएको योगदानलाई कतारसहित अन्तर्राष्ट्रिय समुदायले लामो समयसम्म सम्मानका साथ स्मरण गर्ने विश्वास गरिएको छ।