कतार श्रम मन्त्रालयद्वारा घाममा काम गराएको पाइए उजुरी गर्न आग्रह
दोहा — कतारको श्रम मन्त्रालयले गर्मीयाममा लागू गरिएको कार्यसमयसम्बन्धी नियम उल्लंघन भएको देखिएमा तत्काल 40488264 नम्बरमा सम्पर्क गरी उजुरी गर्न सर्वसाधारण र श्रमिकहरूलाई आग्रह गरेको छ।
मन्त्रालयका अनुसार जुन १ देखि सेप्टेम्बर १५ सम्म हरेक दिन बिहान १०:०० बजेदेखि दिउँसो ३:३० बजेसम्म प्रत्यक्ष घाम पर्ने खुला स्थान तथा पर्याप्त हावापासको व्यवस्था नभएको छायाँयुक्त क्षेत्रमा काम गराउन प्रतिबन्ध छ।
नियम उल्लंघन भएको जानकारी 40488264 हटलाइन वा [email protected] इमेलमार्फत पनि दिन सकिने मन्त्रालयले जनाएको छ। प्राप्त उजुरीमाथि तत्काल छानबिन गरी नियम उल्लंघन गर्ने रोजगारदातामाथि कानुनी कारबाही गरिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।
श्रम मन्त्रालयले अत्यधिक गर्मीबाट श्रमिकको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सबैलाई नियम पालना गर्न तथा उल्लंघन देखिएमा ढिलाइ नगरी जानकारी गराउन अनुरोध गरेको छ।
