मोरक्को पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै क्वार्टरफाइनलमा

आशिक हुसैन शेख     

महोत्तरी टुडे- फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को रोमाञ्चक खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

स्टाडियो मोन्टेरेमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ७२औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। उनले क्रिसेन्सियो समरभिलको पासलाई उत्कृष्ट फिनिस गरेका थिए।

निर्धारित समयको इन्जुरी समयमा मोरक्कोले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍यायो। त्यसपछि अतिरिक्त समयको ३० मिनेटमा पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा मोरक्कोका सौफियान रहिमी, चेम्सडिन ताल्बी र इस्माइल साइबारीले गोल गरे। नेदरल्यान्ड्सका लागि टिउन कुपमाइनर्स र वाउट वेघोर्स्टले मात्र गोल गर्न सके।

मोरक्कोका गोलकिपर यासिन बोनोले निर्णायक प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि टोलीको जित सुनिश्चित भएको थियो।