बर्दिबासमा वातावरणमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम सुरु

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव, महोत्तरी।

मधेस प्रदेश सरकार, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र (PRTC), मुजेलिया, जनकपुरधामको आयोजनामा बर्दिबासमा तीन दिने विशेष तालिम सुरु भएको छ। 'प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम (PLGSP)' अन्तर्गत "वातावरणमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम" सञ्चालन गरिएको हो।

महोत्तरीको बर्दिबासस्थित दीपक पार्टी प्यालेसमा आयोजित उक्त तालिम यही असार ७ गतेदेखि सुरु भई असार ९ गतेसम्म चल्नेछ।तालिममा प्रत्येक स्थानीय पालिकाबाट ३/३ जना प्रतिनिधिहरूको सहभागिता रहेको छ। जसमा पालिकाहरूका उपाध्यक्ष/उपप्रमुख, योजना शाखा प्रमुख र वातावरण शाखाका प्रमुख वा प्रतिनिधिहरू सहभागी छन्।

यस कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा रबिन्द्र यादव, देवराज पोखरेल र PLGSP का तालिम समन्वय विश्लेषक विष्णु नेपाली रहनुभएको छ। उहाँहरूले स्थानीय योजना तर्जुमा गर्दा वातावरणका सवालहरूलाई कसरी समावेश गर्ने र स्थानीय शासनलाई कसरी वातावरणमैत्री बनाउने भन्नेबारे प्रशिक्षण दिइरहनुभएको छ।

यसैगरी, प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र (PRTC) को तर्फबाट दिगम्बर सिंहले तालिमको सम्पूर्ण समायोजन तथा व्यवस्थापन गर्नुभएको छ। स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।