साउदी अरबमा अलपत्र परेका सप्तरीका मृगेन्द्र मण्डलको उद्धारको माग

महोत्तरी टुडे     

शियाराम यादव, सप्तरी

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ निवासी मृगेन्द्र कुमार मण्डल साउदी अरबमा अलपत्र परेपछि उनको उद्धार तथा स्वदेश फिर्ताका लागि परिवारले नेपाल सरकार तथा सम्बन्धित निकायसँग तत्काल पहल गरिदिन आग्रह गरेको छ।

परिवारका अनुसार मण्डल वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए। उनी करिब १५ वर्षअघि भएको सडक दुर्घटनासम्बन्धी मुद्दामा ६ वर्ष कैद सजाय भुक्तान गरी नेपाल फर्किएका थिए। सजाय पूरा गरेपछि करिब ५–६ वर्ष नेपालमै बसेर पुनः रोजगारीका लागि साउदी अरब गएका थिए।

हाल कम्पनीसँग भएको दुई वर्षे रोजगारी सम्झौता पूरा गरी स्वदेश फर्किने क्रममा विमानस्थलमा उनलाई ‘ट्राभल ब्यान’ रहेको जानकारी गराइएको थियो। त्यसपछि उनले साउदी अरबस्थित नेपाली दूतावाससँग पटक–पटक सम्पर्क गरे पनि पुरानो दुर्घटनासम्बन्धी मुद्दा देखाउँदै नेपाल फर्कन नमिल्ने जानकारी दिइएको परिवारले जनाएको छ।

मण्डलमाथि ३ लाख ३० हजार साउदी रियाल जरिवाना रहेको भनिए पनि त्यससम्बन्धी कुनै आधिकारिक अदालत वा सरकारी निकायको कागजात उपलब्ध नगराइएको पीडित पक्षको दाबी छ। साथै, नेपाली दूतावासबाट आवश्यक कानुनी तथा कूटनीतिक सहयोगसमेत प्राप्त हुन नसकेको उनीहरूको गुनासो रहेको छ।

ट्राभल ब्यानका कारण मण्डल हाल साउदी अरबको दमाम क्षेत्रमा अलपत्र परेका छन्। रोजगारी अवधि समाप्त भइसकेकाले खानपान, बसोबास तथा दैनिक जीवनयापनमा समेत गम्भीर समस्या भोग्नुपरेको परिवारले जनाएको छ।

पीडित परिवारले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग, साउदी अरबस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायसँग आवश्यक कानुनी प्रक्रिया अगाडि बढाई मण्डललाई यथाशीघ्र स्वदेश फर्काउन पहल गरिदिन माग गरेको छ।

मण्डलले आफूलाई लागेको आरोप, जरिवाना तथा ट्राभल ब्यानसम्बन्धी स्पष्ट जानकारी उपलब्ध गराई न्यायोचित समाधान खोजिदिन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। आफूले पुरानो मुद्दामा तोकिएको सजाय पूर्ण रूपमा भुक्तान गरिसकेको अवस्थामा सोही मुद्दाकै आधारमा पुनः स्वदेश फर्कन रोक लगाइनु अन्यायपूर्ण भएको भन्दै उनले सम्बन्धित सबै पक्षसँग सहयोगको अपिल गरेका छन्।