प्रवासी नेपाली मञ्च कतारको कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड
आशिक हुसैन शेख दोहा, कतार । प्रवासी नेपाली मञ्च कतारले मिति १९ जुन २०२६ का दिन दोहाको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा कार्यकर्ता भेटघाट, संगठित सदस्यता भेला तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षता तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव चानक पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कतारस्थित मञ्चका उल्लेखनीय सदस्यहरूको सहभागिता रहेको उक्त भेलामा संगठनलाई अझ सुदृढ, गतिशील र प्रभावकारी बनाउँदै लैजान आवश्यक सुझावहरू प्रस्तुत गरिएका थिए। सहभागी सदस्यहरूले संगठन विस्तार, सदस्यता नवीकरण तथा आगामी कार्ययोजनासम्बन्धी विषयमा आफ्ना धारणा राख्दै मञ्चलाई अझ बलियो, एकताबद्ध र क्रियाशील बनाउन सामूहिक रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, निवर्तमान अध्यक्ष प्रभात त्रिपाठी, मध्यपूर्व कमिटी सदस्य चाहानिलाल राजवंशी, सल्लाहकार परिषद्का उपाध्यक्ष बालकृष्ण भित्रीकोटी, निवर्तमान सल्लाहकार सागर नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि चानक पोखरेलले नेकपा (एमाले) को वैचारिक दृष्टिकोण, वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशाबारे प्रकाश पार्दै पार्टीलाई अझ एकताबद्ध, सशक्त र जनमुखी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्रवासी नेपालीहरूको बीचमा मञ्चलाई थप स्थापित गर्दै सामाजिक तथा रचनात्मक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने तथा प्रवासी नेपाली मञ्चलाई विश्वभरकै उत्कृष्ट प्रवासी संगठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष भीम तरामु मगरले राख्नुभएको थियो भने उपाध्यक्षहरू अफसर अली खान र टिका कार्कीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण मञ्चका सचिव शेषराज तिमिल्सिनाले गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष चुडामणि कार्कीले सहभागी सम्पूर्ण कमरेडहरू, अतिथिहरू तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको थियो।
