मधेश प्रदेश समन्वय परिषद् कतारद्वारा भेटघाट, सपथ ग्रहण, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा, कतार

मधेश प्रदेश समन्वय परिषद् कतारको आयोजनामा भेटघाट, सपथ ग्रहण, सम्मान तथा परिचयात्मक कार्यक्रम–२०८३ शुक्रबार दोहास्थित गोर्खाली रेस्टुरेन्टमा सम्पन्न भएको छ।

IMG_2989.JPG

कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवानको अध्यक्षता तथा प्रमुख सल्लाहकार नियाज शेखको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष साकिर अली, मनिष यादव, समाजसेवी तथा सप्तरी सेवा समाज कतार अध्यक्ष, म्याङ्गो फाउन्डेसनका अध्यक्ष तथा धनुषा सेवा समाज कतारका अध्यक्ष, समाजसेवी सौकत अली, बिशेष्वर प्रसाद, कमलेश लगायत परिषद्का पदाधिकारी, सदस्य तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको शुभारम्भ नेपाली राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि देश तथा लोकतान्त्रिक आन्दोलनका ज्ञात-अज्ञात शहीदहरूप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको थियो। सो अवसरमा परिषद्को आधिकारिक ब्यानरसमेत अनावरण गरिएको थियो।

 

कार्यक्रममा सहभागीहरूबीच आपसी परिचय आदानप्रदानसँगै संगठनको उद्देश्य, भूमिका तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। वक्ताहरूले प्रवासमा रहेका नेपाली, विशेषगरी मधेशी समुदायबीच आपसी एकता, सहकार्य तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

 

कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लामा मात्र सीमित नभई नेपालका २२ वटै मधेशी बाहुल्य जिल्लाबाट कतारमा रहेका मधेशी समुदायलाई मधेश प्रदेश समन्वय परिषद् कतारको साझा छातामुनि आबद्ध गर्दै संगठनलाई थप व्यापक, समावेशी र सशक्त बनाउने विषयमा विशेष छलफल भएको थियो। सहभागीहरूले सम्पूर्ण मधेशी समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सामुदायिक हितका कार्यहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

 

यसै अवसरमा परिषद्का महासचिव ईसिलाल पण्डितलाई औपचारिक रूपमा सपथ ग्रहण गराई पदभार ग्रहण गराइएको थियो। अधिवेशनबाट निर्वाचित भए पनि अधिवेशनका बेला नेपालमा रहेका कारण उहाँको सपथ ग्रहण हुन सकेको थिएन। कार्यक्रममा उहाँलाई औपचारिक रूपमा सपथ ग्रहण गराई महासचिव पदको जिम्मेवारी हस्तान्तरण गरिएको परिषद्ले जनाएको छ।

 

कार्यक्रममा समाज तथा समुदायको हितमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै महासचिव ईसिलाल पण्डितलाई सम्मानसमेत गरिएको थियो। उपस्थित वक्ताहरूले उहाँको योगदानको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि समुदायको हितमा निरन्तर सक्रिय रहन शुभकामना व्यक्त गरेका थिए।

 

त्यसैगरी परिषद्को कोषाध्यक्ष पदसम्बन्धी विषयमा समेत छलफल भएको र उक्त विषय आगामी कार्यसमिति बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिइएको थियो।

 

वक्ताहरूले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात् गर्दै प्रवासमा रहेका नेपाली तथा मधेशी समुदायबीच सहयोग, सद्भाव, भाइचारा र सामाजिक उत्तरदायित्वको भावनालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

 

मधेश प्रदेश समन्वय परिषद् कतारले कतारमा रहेका नेपाली तथा मधेशी समुदायबीच आपसी सम्बन्ध विस्तार, सहयोगको भावना अभिवृद्धि तथा सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

 

सौहार्दपूर्ण, उत्साहपूर्ण तथा उपलब्धिमूलक वातावरणमा सम्पन्न कार्यक्रमले संगठनलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका थिए।