गौशालामा किता नम्बर ११५ को जग्गा नापी कार्य तीव्र, अतिक्रमण हटाउने तयारी?
गौशाला महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाले किता नम्बर ११५ मा बनेका घर–टहरा सम्बन्धी विवादमा गतिविधि तीव्र बनाएको छ। उक्त जग्गामा घर–टहरा निर्माण गरेका व्यक्तिहरूलाई उच्च अदालत जनकपुर बाट अन्तरिम आदेश जारी नभएको अवस्थामा नगरपालिकाले जग्गा नापी कार्य अघि बढाएको हो।
नगरपालिकाले गौशालास्थित किता नम्बर ११५ को जग्गा नापी गर्ने कार्य सुरु गरेको छ। जानकारी अनुसार, उक्त नापी तरकारी बजारको पश्चिम, मालपोत कार्यालय जाने सडकको पूर्व तथा दक्षिण र उत्तरतर्फ सुकदेव भवनसम्म गरिएको छ। नापी सम्पन्न भएपछि नगरपालिकाले आगामी कदम के चाल्ने भन्ने विषयलाई लिएर स्थानीयवासीको चासो बढेको छ।
नापी कार्यका क्रममा स्थानीयबासी तथा सरोकारवालाहरूले आ–आफ्ना धारणा व्यक्त गरेका छन्। केहीले सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाई खाली गराउनुपर्ने बताएका छन् भने केहीले वर्षौंदेखि बसोबास गर्दै आएका परिवारहरूका लागि सरकारले वैकल्पिक व्यवस्था गर्नु उपयुक्त हुने धारणा राखेका छन्।
यस्तै, केही स्थानीयले “यदि सरकारले आफ्नो स्वामित्वको जग्गा संरक्षण गर्न सकेन भने सार्वजनिक सम्पत्तिको अस्तित्वमाथि नै प्रश्न उठ्ने” बताएका छन्।
स्थानीयवासीका अनुसार विगतमा भएका सरकारी कमजोरी तथा स्पष्ट नीति अभावका कारण अहिले घरधनीहरू समस्यामा परेका छन्। अब नापीपछि नगरपालिकाले के निर्णय लिन्छ भन्ने विषय सबैको नजरमा रहेको छ।
