गैरआवासीय नेपाली संघ कतारद्वारा म्याङ्ग्रोभ्स सफाइ अभियान।
दोहा, कतार — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् कतारले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी मे १ तारिख शुक्रबार ‘बीच क्लिनअप अभियान’ आयोजना गर्ने भएको छ।
DeapQatar Conservation सँगको सहकार्यमा कतारको चर्चित पर्यटकीय स्थल अल थखिरा म्याङ्ग्रोभ्समा सञ्चालन हुने यस अभियानमा सहभागी हुन कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ। वातावरण स्वच्छ राख्नुका साथै नेपालीहरूबीच आपसी एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम दिउँसो ३:५० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ। यसका लागि मुन्ताजा पार्कलाई मुख्य भेटघाट स्थल तोकिएको छ, जहाँ सहभागीहरू दिउँसो २:०० बजे भेला हुनुपर्नेछ। त्यहाँबाट एनआरएनए एनसीसी कतारले यातायातको व्यवस्था गर्ने महासचिव शिव भुजेलले जानकारी दिनुभएको छ।
सफाइ अभियानपछि सहभागीहरूले म्याङ्ग्रोभ्स क्षेत्रको भ्रमण गर्दै आकर्षक सूर्यास्त अवलोकन गर्ने अवसर पनि पाउनेछन्, जसले कार्यक्रमलाई अझ रमाइलो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा अधिकतम १०० जनाको सहभागिता रहनेछ। सफाइका लागि आवश्यक ग्लोब्स, ब्याग र पिउने पानी आयोजकले उपलब्ध गराउनेछ। सहभागीहरूलाई घामबाट जोगिने सामग्री साथमा ल्याउन र स्थानीय संस्कृति अनुरूपको पोशाक लगाउन अनुरोध गरिएको छ। कार्यक्रम परिवारमैत्री हुनेछ, तर १८ वर्षमुनिका बालबालिकाहरू अभिभावकसँगै आउनुपर्नेछ।
सहभागी हुन इच्छुक व्यक्तिहरूले तलको लिंकमार्फत आफ्नो विवरण दर्ता गर्न सक्नेछन्:
https://forms.gle/msqnbFy9JWR2gXqo8
कतारमा रहेर पनि वातावरणप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्ने यस अभियानमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण नेपाली समुदायमा अपिल गरिएको छ।

