प्रहरी र तस्करको मिलेमतोमा व्यापक तस्करी
नरेन्द्र महतो– महोत्तरी,
वालेन सरकारलाई प्रहरीकै चुनौती ? सीमामा खुलेआम तस्करीको आरोप महोत्तरी जिल्लाको रघुनाथपुर र खैयरवनी सीमा नाकाबाट व्यापक रूपमा तस्करी भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीय स्रोतका अनुसार सर्वसाधारणले सामान्य प्रयोजनका लागि दुई किलोसम्म चिनी ल्याउन खोज्दा समेत रोक लगाइन्छ, तर ठूला तस्करहरू भने प्रहरीसँगको मिलेमतोमा सजिलै सामान भित्र्याइरहेका छन्।
दैनिक रूपमा ५० लाख रुपैयाँभन्दा बढी मूल्यका सामान तस्करीमार्फत नेपाल भित्रिने गरेको दाबी गरिएको छ। तस्करी हुने सामानहरूमा चिनी, कपडा, पेय पदार्थ, आँटा, खुर्सानी, कस्मेटिक सामग्री, मोबाइलका पार्टपुर्जा तथा मोबाइल सेटहरू समावेश छन्। एक स्थानीय व्यापारीका अनुसार तस्करहरूले सम्बन्धित सुरक्षाकर्मीलाई महिनावारी ५ हजारदेखि ५० हजार रुपैयाँसम्म बुझाएर निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरेका छन्। “यदि सबैलाई महिनावारी रकम बुझाउनुपर्छ भने राज्यलाई राजस्व किन तिर्ने?” भन्ने प्रश्न उनले उठाए।
सीमा क्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका विभिन्न युनिटहरू तैनाथ छन्। रघुनाथपुरमा सशस्त्र प्रहरीको डीएसपी स्तरको कमाण्ड, खैयरवनीमा प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालयमा सई तथा रघुनाथपुर प्रहरी चौकीमा असई स्तरका सुरक्षाकर्मी खटिएका छन्। यसका साथै मगरथाना क्षेत्रमा अस्थायी प्रहरी चौकी र जमुनियामा सशस्त्र प्रहरी क्याम्पसमेत रहेको छ। यी सबै सुरक्षा निकायहरू करिब एक किलोमिटरको दूरीभित्रै रहेका छन्। यति धेरै सुरक्षा उपस्थिति हुँदाहुँदै पनि उक्त नाकाबाट राजस्व संकलन शून्यजस्तै रहेको आरोपले गम्भीर प्रश्न उठाएको छ।
। तस्करीका सामानहरू रघुनाथपुर नाकाबाट सोना, तरहरी, शिवनगर हुँदै गौशाला र बर्दिबाससम्म पुर्याइने गरिएको छ भने खैयरवनी नाकाबाट मगरथाना, सुन्दरपुर, विष्हरपुर हुँदै ती क्षेत्रमा वितरण हुने गरेको बताइन्छ। स्थानीयवासी तथा सरोकारवालाहरूले यस विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
सीमा सुरक्षामा खटिएका निकायहरूको जवाफदेहिता सुनिश्चित नगरेसम्म तस्करी नियन्त्रणमा आउन नसक्ने उनीहरूको भनाइ छ।
