निगौल गाई गौशाला घाटामा: आम्दानीभन्दा खर्च दोब्बर, व्यवस्थापनमा चुनौती
नरेन्द्र महतो - महाेत्तरी
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा स्थापना गरिएको निगौल गाई गौशाला हाल स्थानान्तरण भई गौशाला नगरपालिका–३ नवराजपुरमा सञ्चालनमा रहेको छ। पछिल्लो समय यस गौशालाको व्यवस्थापन राष्ट्रिय सहकारी नियमन प्राधिकरण अन्तर्गत “निगौल गाई गौशाला व्यवस्थापन कार्यालय” नामबाट भइरहेको छ। तर, आर्थिक हिसाबले भने गौशाला लगातार घाटामा जाँदै गएको तथ्य बाहिर आएको छ।
गौशालाको नाममा कुल १४३ विघा १३ कठ्ठा जमिन रहेको छ। पशु विभागका कर्मचारी वीरबहादुर चौधरीका अनुसार यसमध्ये करिब १४ विघा जमिन अतिक्रमणमा परेको छ। बाँकी जमिनमध्ये ८० विघामा मनखप (खेतीपाती), २० विघामा गाईका लागि हरियो घाँस, १० विघामा लिची खेती, ९ विघामा पोखरी तथा १० विघामा गौशाला, गोठ र कार्यालय सञ्चालन भइरहेको छ।
आम्दानीतर्फ हेर्दा:
८० विघा मनखपबाट वार्षिक करिब ३२–३३ लाख रुपैयाँ, १० विघा लिची खेतीबाट १२ लाख ७१ हजार रुपैयाँ, ९ विघा पोखरीबाट ७ लाख ५५ हजार रुपैयाँ, घर भाडाबाट १२ लाख रुपैयाँ, कार्यालय परिसरभित्रको अन्य जमिनबाट ९५ हजार ५ सय रुपैयाँ आम्दानी हुने गरेको छ। यसरी कुल वार्षिक आम्दानी ६५ लाख २१ हजार ५ सय रुपैयाँ रहेको छ। तर, खर्चतर्फ भने अवस्था चिन्ताजनक देखिन्छ। गौशालाको वार्षिक खर्च करिब १ करोड २० लाख रुपैयाँ पुगेको छ, जुन आम्दानीको लगभग दोब्बर हो।
यसले गर्दा गौशाला निरन्तर घाटामा सञ्चालन भइरहेको छ। हालसम्म करिब १२ लाख रुपैयाँ तिर्न बाँकी रहेको पनि जनाइएको छ। गौशालाको आर्थिक अवस्था कमजोर हुनुमा व्यवस्थापनको कमजोरी, स्रोतको प्रभावकारी उपयोग नहुनु तथा अतिक्रमणजस्ता समस्या प्रमुख कारणका रूपमा देखिएका छन्। सम्बन्धित निकायले समयमै सुधारात्मक कदम नचालेमा भविष्यमा गौशालाको अस्तित्व नै संकटमा पर्ने खतरा रहेको स्थानीयको चिन्ता छ। यस अवस्थामा पारदर्शी व्यवस्थापन, अतिक्रमण नियन्त्रण र आम्दानीका स्रोत विस्तारमा ध्यान दिन आवश्यक देखिएको छ।
