पारिजात स्मृति दिवसमा ‘जेन्जीको ज्वाला’ विमोचन

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क,

३४औँ पारिजात स्मृति दिवसका अवसरमा बर्दिबासस्थित विनायक ब्याङ्केटमा आयोजित एक साहित्यिक समारोहबीच कवि प्रेम घिमिरे ‘अग्निकवच’द्वारा लिखित लघु प्रबन्धकाव्य ‘जेन्जीको ज्वाला’ को विमोचन गरिएको छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) मधेस प्रदेशद्वारा आयोजित उक्त कार्यक्रमको प्रायोजन शिशिर घिमिरे स्मृति प्रतिष्ठानले गरेको थियो ।

सोही अवसरमा ‘शिशिर घिमिरे स्मृति नव प्रतिभा सम्मान–२०८२’ बाट कमला साहित्य, कला समाज धनुषाका अध्यक्ष गणेश तिमल्सिना ‘गति’लाई सम्मान गरिएको छ । उक्त सम्मानमा नगद रु. १५ हजार ५ सय ५५ रूपियाँ  सहित कदरपत्र प्रदान गरिएको जनाइएको छ । यो सम्मान कवि प्रेम घिमिरेले आफ्ना दिवंगत पुत्र शिशिर घिमिरेको स्मृतिमा २०७६ सालदेखि प्रदान गर्दै आउनुभएको हो ।

मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि ‘भ्रमर’को प्रमुख आतिथ्य तथा प्रदेशसभा सदस्य शारदा थापाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा मधेसका विभिन्न जिल्लासहित रामेछाप, सिन्धुली, उदयपुरलगायत स्थानबाट आएकाे साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कापडिले पारिजातको साहित्यिक योगदानको स्मरण गर्दै उहाँलाई वैचारिक रूपमा सशक्त र साहसी स्रष्टाका रूपमा व्याख्या गर्नुभयाे । उहाँले नेपाली साहित्यको विकासका लागि अनुवाद साहित्यलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै ‘जेन्जीको ज्वाला’ लाई मधेसका विभिन्न भाषामा अनुवाद गरिए व्यापक पाठकसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार मञ्जु मञ्जुभाषिणीले ७२ पृष्ठमा पाँच सर्गमा विभाजित उक्त काव्य शार्दूलविक्रीडित छन्दमा रचित सरल तर सशक्त कृति भएको बताउनुभयाे । उहाँले कृतिमा १ सय ८१ श्लोकमार्फत समकालीन सन्दर्भलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयाे ।

त्यसैगरी, साहित्यकार जीवन स्पर्शीले कृतिको वैचारिक पक्षको समीक्षा गर्दै ‘जेन्जीको ज्वाला’ ले समकालीन भ्रष्ट राजनीति, सामाजिक विसंगति र प्रणालीगत समस्यामाथि प्रश्न उठाएको बताउनुभयाे । उहाँले काव्यले व्यक्तिवादी भन्दा पद्धतिगत परिवर्तनको आवश्यकता औँल्याउँदै प्रगतिशील साहित्यमा महत्वपूर्ण योगदान दिएको धारणा राख्नुभयाे ।

कार्यक्रममा विशिष्ट अतिथि शारदा देवी थापा, डा. वीरबहादुर महतो, प्रा.डा. सुमन कर्माचार्य, माधव पोख्रेल, नारायण विक्रम थापा, लम्बोदर काफ्ले, विष्णु खड्कालगायतले पारिजातको योगदान स्मरण गर्दै विमोचित कृतिको प्रशंसा गर्नुभएकाे थियाे ।

यसैगरी, पारिजातका कृति र व्यक्तित्वमाथि लिला गौतम, केदार कोइराला र मदन प्रभातले विचार व्यक्त गर्नुभएकाे थियाे  भने कुमार कुसुम, राम उदित, रूपनारायण सिंह र मिना देवकोटाले रचना वाचन गर्नुभएकाे थियाे । कार्यक्रममा स्थानीय कलाकार अभिषेक पाण्डेले मैथिली गीत तथा भारत, सितामढीका शायर मो. कमरुद्दिन नदाफले गजल प्रस्तुत गर्नुभएकाे थियाे ।

भिम राउतले सञ्चालन गरेको कार्यक्रम प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य रामचन्द्र पौडेलले व्यक्त गर्नुभएकाे  थियाे ।