महोत्तरीको गौशालामा अज्ञात युवकको शव फेला, पहिचान खुल्न सकेन
गौशाला, चैत २६ गते।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११ स्थित क्षेत्रमा एक अज्ञात युवक मृत अवस्थामा फेला परेका छन्।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने मरहा खोलाको पुलभन्दा करिब ४०–५० मिटर दक्षिणतर्फ सडकछेउको झाडीमा उक्त शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बुधबार दिउँसो स्थानीयवासीले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृतक करिब १७–१८ वर्ष उमेर समूहका युवक रहेको अनुमान गरिएको छ। उनी तराई मूलका जस्तो देखिए पनि हालसम्म पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरीक्षक विश्वम्भर नाथ साहले शवको सनाखतका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
मृतकको पहिचानबारे कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सम्पर्क गर्न आग्रह गरिएको छ। साथै, जानकारी दिनका लागि ९८५४०३२४५५, ९८५४०३००९९ तथा आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।
