सर्वोच्च अदालतको आदेशपछि केपी ओली र रमेश लेखक रिहा गर्ने निर्णय।
काठमाडौँ- पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक लाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालत को परमादेशपछि प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार सरकारी वकिलको सहमतिमा “खोजी भएको बेला उपस्थित हुने शर्तमा” उनीहरूलाई रिहा गरिएको हो।
भदौ २३ र २४ मा भएको घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि दुवै जनालाई चैत १४ गते पक्राउ गरिएको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालत बाट म्याद थप गर्दै प्रहरीले हिरासतमा राख्दै आएको थियो।
बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते चौथो पटक म्याद नथप्न र अनुसन्धान नसकिएमा हिरासत मुक्त गरेर थप अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को इजलासले चैत २५ पछि हिरासतमा नराख्न आदेश दिएको थियो।
यसअघि काठमाडौँ जिल्ला अदालतले चैत २१ गतेदेखि लागू हुने गरी ५ दिनको तेस्रो म्याद दिएको थियो। अदालतले सो अवधिमा अनुसन्धान टुंग्याएर मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न र नसकिएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ अनुसार रिहा गरेर थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।
उल्लेखनीय छ, मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे कार्की आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। जेन–जी आन्दोलनका क्रममा काठमाडौँको बानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए।
स्वास्थ्य समस्याका कारण ओलीलाई त्रिवि शिक्षण अस्पताल मा राखिएको थियो भने लेखकलाई महाराजगञ्जस्थित सशस्त्र प्रहरी बलको गणमा राखिएको थियो।
