सम्सी–कन्हवाँ सीमामा बढ्दो तनाव: शंकर मन्दिरमा SSB द्वारा पुनः चिन्हांकन, मधेश सरकारलाई ज्ञापनपत्र

आशिक हुसैन शेख     

सम्सी महोत्तरी । महोत्तरी जिल्लाको सम्सी–कन्हवाँ सीमा क्षेत्रमा रहेको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र शंकर मन्दिरलाई लिएर पुनः तनाव उत्पन्न भएको छ।

received_4415013725411169.jpeg

मिति २०८२/१२/२४ गते मंगलबार, उक्त क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (SSB) का जवानहरू आएर मन्दिर परिसरमा रातो रंगले चिन्ह (marking) लगाउने कार्य गरेका छन्। स्थानीय युवा नेता राजेश यादवका अनुसार यो चिन्हांकन मन्दिर भत्काउने उद्देश्यले गरिएको स्पष्ट संकेतका रूपमा लिइएको छ, जसले थप त्रास र आक्रोश उत्पन्न गरेको छ।

received_1508979437462198.jpeg

स्थानीय बासिन्दा, युवा बिजय यादव तथा जनप्रतिनिधिहरूले उक्त मन्दिर नेपाली भूमिमा रहेको ऐतिहासिक तथा धार्मिक सम्पदा भएको उल्लेख गर्दै यसप्रकारको गतिविधिलाई राष्ट्रिय सार्वभौमिकता र धार्मिक स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्।

FB_IMG_1774893012707.jpg

यसै सन्दर्भमा, आज मधेश प्रदेशका माननीय मुख्यमन्त्री तथा माननीय गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनास्थलमै पुगेर वस्तुस्थिति बुझ्न, निष्पक्ष छानबिन गर्न र आवश्यक कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न आग्रह गरिएको छ।

received_1508979437462198.jpeg

ज्ञापनपत्रमार्फत मन्दिरको सुरक्षा तथा संरक्षण सुनिश्चित गर्न, यस्ता गतिविधि तत्काल रोक्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन समाधान खोज्न माग गरिएको छ।

स्थानीयले शान्तिपूर्ण सहअस्तित्व र आपसी सम्मानमा विश्वास राख्दै पनि आफ्नो भूमि, आस्था र पहिचानमाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

received_1652065822809059.jpeg

यस घटनाले सीमा क्षेत्रको संवेदनशीलता, धार्मिक सम्पदाको संरक्षण तथा कूटनीतिक समन्वयको आवश्यकता पुनः उजागर गरेको छ। सरोकारवाला निकायले समयमै प्रभावकारी पहल नगरे स्थिति थप जटिल बन्न सक्ने स्थानीय बिजय यादव राजेश यादव बिमलेस यादव सिताराम साह सोनु साह को भनाइ छ।

 

जोड जबरदस्ती नेपालको भूमिमा प्रवेश गरी सम्सी–कन्हवाँ क्षेत्रस्थित शंकर मन्दिरमा चिन्ह लगाइएको घटना अत्यन्त गम्भीर र आपत्तिजनक छ। यो केवल एउटा मन्दिरसँग जोडिएको विषय मात्र नभई राष्ट्रिय सार्वभौमिकता, धार्मिक आस्था र स्थानीयको पहिचानमाथिको प्रत्यक्ष हस्तक्षेप हो।

 

यस विषयमा केही दिन अघि नै जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई जानकारी गराइएको थियो र सम्बन्धित निकायमा पुगेर औपचारिक रूपमा पत्र समेत बुझाइएको थियो। तर त्यसपछि पनि यस्ता गतिविधि दोहोरिनु गम्भीर चिन्ताको विषय बनेको छ।

 

सम्बन्धित निकायले यस घटनालाई तुरुन्तै गम्भीरतापूर्वक लिँदै सत्य–तथ्य छानबिन गर्नु, आवश्यक कूटनीतिक पहल गर्नु र मन्दिरको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त जरुरी छ। यस्ता घटनामा समयमै पहल नभए भविष्यमा अवस्था अझ जटिल बन्न सक्नेछ।