गुल्मी सेवा समाज कतारद्वारा वृहत् रक्तदान कार्यक्रम आयोजना, सहभागिताका लागि आग्रह।

आशिक हुसैन शेख     

आशिक हुसैन शेख दोहा कतार- गुल्मी सेवा समाज कतारले आफ्नो स्थापना दिवसको अवसर पारेर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। सन् २००३ मा स्थापना भएको समाजले “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निःस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारालाई आत्मसात् गर्दै निरन्तर सामाजिक कार्य गर्दै आएको छ।

गुल्मी सेवा समाजले आगामी २७ मार्च २०२६ (शुक्रबार) का दिन कतारस्थित हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा बिहान ८ बजेदेखि १ बजेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली रक्तदाता संघ कतार तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारको समन्वयमा सञ्चालन हुने यस कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार एवं मिडियाकर्मी, साहित्यकार, कलाकार, खेलाडी तथा कतारवासी सम्पूर्ण गुल्मेली एवं गैर–गुल्मेली नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।

संस्थाका अनुसार, रक्तदान जस्तो मानवीय कार्यले आपतकालीन अवस्थामा बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। त्यसैले सबैलाई रक्तदानमा सहभागी भई मानव सेवामा योगदान दिन आग्रह गरिएको छ।

रक्तदान गर्न इच्छुक व्यक्तिहरूले केही आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। रक्तदाता कम्तीमा १८ देखि ६५ वर्ष उमेर समूहका, कम्तीमा ५० केजी तौल भएका हुनुपर्नेछ। साथै, रक्तदान गर्न आउँदा कतारी आइडी, ड्राइभिङ लाइसेन्स वा हेल्थकार्ड अनिवार्य साथमा ल्याउनुपर्नेछ।

त्यसैगरी, कतार प्रवेश गरेको कम्तीमा ४ महिना पूरा भएको, अघिल्लो रक्तदान गरेको भए कम्तीमा ६० दिन बितिसकेको, कम्तीमा ८ घण्टा निद्रा पुगेको, एन्टिबायोटिक औषधि सेवन नगरेको तथा पछिल्लो २४ घण्टाभित्र मदिरा सेवन नगरेको हुनुपर्ने जनाइएको छ।

पूर्व निर्धारित कार्यक्रम विविध कारणवश स्थगन भई पुनः नयाँ मिति, समय र स्थानमा आयोजना गरिएको जानकारी समेत समाजले दिएको छ।

कार्यक्रम संयोजक दीपक घिमिरे (मो. ७७३०८४५०) र समाजका अध्यक्ष मित्र बी.एस. (मो. ७०००५१३२) ले कार्यक्रमलाई सफल बनाउन सबैमा सहयोग र सहभागिताको अपिल गर्नुभएको छ।

गुल्मी सेवा समाज कतारले विगतदेखि नै सामाजिक तथा मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।