चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ पुष्टि
चितवन, साउन २७ – चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ (CAV) देखिएको छ। राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनमा यो रोगको पुष्टि गरेको हो।
एलाइजा प्रविधिबाट गरिएको परीक्षणमा ९२ नमूनामध्ये ३१ नमूनामा (३३ प्रतिशत) रोग पाइएको प्रयोगशालाले जनाएको छ। यो रोगले कुखुराको प्रतिरोधात्मक क्षमता घटाइदिन्छ, जसका कारण अन्य रोगको जोखिम बढ्ने र दीर्घकालीन रूपमा उत्पादनमा गिरावट आउने बताइएको छ।
यसका लक्षणमा रक्तअल्पता, तौल नबढ्नु, अण्डा उत्पादनमा कमी, तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छ। नेपालमा यो रोग पहिलोपटक दुई वर्षअघि काठमाडौंमा पाइएको थियो। विशेषज्ञहरूले ब्रोइलर र लेयर्स दुबैमा यसको खोप दिनु पर्नेमा जोड दिएका छन्।
गत आर्थिक वर्षमा प्रयोगशालाले १६ जिल्लाका ७,००० भन्दा बढी कुखुराको परीक्षण गर्दा अन्य रोगहरू समेत व्यापक रूपमा पाइएको छ। जैविक सुरक्षाको कमीलाई मुख्य कारण मानिएको छ, र किसानलाई दाना, पानी, औषधि, अण्डा ढुवानी गर्दा पूर्ण निःसङ्क्रमण गर्ने सल्लाह दिइएको छ।
