कतारमा पहिलो ‘स्मार्ट मस्जिद’ उद्घाटन, सौर्य ऊर्जाबाट सञ्चालन हुने
आशिक हुसैन शेख दोहा, कतार। कतारले आफ्नो पहिलो स्मार्ट मस्जिद काइस बिन साद बिन उबादाह मस्जिद (Qais bin Saad bin Ubadah Mosque) को औपचारिक उद्घाटन गरेको छ। मुआइथर (Muaither) क्षेत्रमा रहेको यो मस्जिद अत्याधुनिक स्मार्ट प्रविधिसहित निर्माण गरिएको हो।
यस मस्जिदमा बुद्धिमानी (Smart) विद्युत तथा पानी व्यवस्थापन प्रणाली, सौर्य ऊर्जा (Solar Power) मार्फत वातानुकूलन (एयर कन्डिसनिङ) र बत्ती सञ्चालन, साथै वुजु (अजु) को पानी पुनः प्रशोधन गरी शौचालय तथा हरियाली क्षेत्रमा पुनः प्रयोग गर्ने प्रणाली जडान गरिएको छ। यसबाट ऊर्जा र पानीको खपत घट्ने, कार्बन उत्सर्जन कम हुने तथा वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
कतारको अवकाफ तथा इस्लामिक मामिला मन्त्रालयले यो परियोजनालाई देशभर स्मार्ट र दिगो मस्जिदहरूको विकासतर्फको महत्वपूर्ण सुरुआत भएको जनाएको छ। आगामी चरणमा यस्ता थप स्मार्ट मस्जिद निर्माण गर्ने योजना पनि मन्त्रालयले सार्वजनिक गरेको छ।
यो परियोजना कतार राष्ट्रिय दृष्टि २०३० (Qatar National Vision 2030) अनुरूप दिगो विकास, आधुनिक पूर्वाधार निर्माण र वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ अघि बढाइएको हो।
