बलदिया ३८ नम्बर क्याम्पबाट रसुवा–नुवाकोट बाढीपीडितका लागि ४ लाख ६२ हजार ६५७ सहयोग
आशिक हुसैन शेख दोहा, कतार । रोजगारीका सिलसिलामा कतारमा रहेका नेपाली तथा विभिन्न देशका नागरिकहरूले नेपालमा आएको प्राकृतिक विपत्तिमा परेका बाढीपीडित परिवारका लागि उल्लेखनीय मानवीय सहयोग गरेका छन्।

रसुवा तथा नुवाकोटमा आएको बाढीबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कतारको बालदिया ३८ नम्बर क्याम्पमा रहेका नेपालीसहित भारतीय, बंगलादेशी र श्रीलंकाली समुदायका व्यक्तिहरूले संयुक्त रूपमा सहयोग रकम संकलन गरेका हुन्।

अभियानबाट संकलित ४ लाख ६२ हजार ६५७ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको जनाइएको छ।
विदेशमा रोजगारी गरेर जीवनयापन गरिरहेका उनीहरूका लागि आफ्नो कमाइ केवल व्यक्तिगत आवश्यकता पूरा गर्ने माध्यम मात्र होइन, संकटको समयमा आफ्नो मातृभूमि र पीडित नेपालीका लागि सहयोग गर्ने माध्यमसमेत बनेको छ।

कतारमा दैनिक लामो समय काम गरेर परिवारको जीविकोपार्जनका लागि कमाइरहेका श्रमिकहरूले नेपालमा बाढीपहिरोले ठूलो क्षति पुर्याएको खबर पाएपछि मानवीय भावनाका साथ सहयोग अभियान सञ्चालन गरेका थिए। आफूहरू विदेशमा भए पनि नेपालमा रहेका पीडित दाजुभाइ तथा दिदीबहिनीको पीडालाई आफ्नै पीडाका रूपमा लिएर सहयोगमा हातेमालो गरेको आयोजकहरूको भनाइ छ।

वैदेशिक रोजगारीका क्रममा आफ्नो घरपरिवार, आफन्त र गाउँसमाजबाट टाढा रहेका नेपालीहरूले विपद्का बेला देखाएको सहयोगले प्रवासी नेपालीको मातृभूमिप्रतिको सम्बन्धलाई थप प्रस्ट पारेको छ।
कतारमा पसिना बगाएर कमाएको रकममध्ये केही हिस्सा बाढीपीडितको राहतका लागि छुट्याउँदै उनीहरूले ‘देश टाढा भए पनि मन मातृभूमिसँगै हुन्छ’ भन्ने भावनालाई व्यवहारमा उतारेका छन्।
यस अभियानमा नेपालीसँगै भारतीय, बंगलादेशी र श्रीलंकाली नागरिकहरूको समेत सहभागिता रहेको छ। विभिन्न देश, भाषा र समुदायका व्यक्तिहरू एउटै मानवीय उद्देश्यका लागि एक ठाउँमा उभिनुले विपद्को समयमा मानवताको कुनै सीमा नहुने सन्देश दिएको छ।
रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा बाढीका कारण परिवारहरू प्रभावित भएपछि उनीहरूको राहतमा केही सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान अघि बढाइएको आयोजकहरूले बताएका छन्।
अभियान सफल बनाउन सक्रिय व्यक्तिहरू रकम संकलन तथा अभियानलाई सफल बनाउन निम्न व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको जनाइएको छ।
१. मोहम्मद मोजाहिद राइन
२. श्यामकुमार यादव
३. सुरेन्द्र कुमार यादव
४. परमेश्वर यादव
५. रामपुकार दास
६. अमोल कुमार यादव
७. राधेश्याम
८. मणिचन्द्र यादव
९. शंकर ठाकुर एलडी
१०. मोहम्मद मोजीबुल राइन, जनकपुर
११. मोहम्मद अकबर अली
१२. अलाउद्दिन नदाफ
१३. इनायत राइन
१४. नेसर खान (सोनु)
१५. सद्दाम हुसेन
१६. अशोक गोइत
अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने नेपाली, भारतीय, बंगलादेशी तथा श्रीलंकाली समुदायका सम्पूर्ण सहयोगीहरूप्रति आयोजकहरूले हार्दिक आभार व्यक्त गरेका छन्।
‘मानवता सबैभन्दा ठूलो धर्म’
विपद्को समयमा जात, धर्म, भाषा, देश वा समुदायभन्दा माथि उठेर एकअर्कालाई सहयोग गर्नु नै मानवताको वास्तविक परिचय भएको अभियानमा सहभागीहरूले बताएका छन्।
वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका यी श्रमिकहरूले आफ्नै परिवारको भविष्यका लागि संघर्ष गरिरहेकै अवस्थामा नेपालका बाढीपीडित परिवारका लागि सहयोग जुटाउनु आफैंमा प्रशंसनीय मानवीय कार्य हो।
उनीहरूको यो अभियानले ‘हामी जहाँ भए पनि, मातृभूमिमा दुःख पर्दा साथ दिन्छौँ’ भन्ने भावना व्यक्त गरेको छ।
बालदिया ३८ नम्बर क्याम्पबाट सुरु भएको यो सहयोग अभियानले नेपालमा रहेका बाढीपीडित परिवारसम्म राहत र सहयोग पुर्याउन सानो भए पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
मानवता • भाइचारा • एकता 🇳🇵
