बाढीपीडितका लागि राहत सहयोग व्यवस्थित बनाउने विषयमा नेपाली मुस्लिम संघसंस्थाबीच छलफल
आशिक हुसैन शेख दोहा, कतार ।
नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कतारमा रहेका नेपाली मुस्लिम समुदाय तथा विभिन्न संघसंस्थाले गर्दै आएको सहयोगलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज, कतारको आह्वानमा कतारमा क्रियाशील विभिन्न नेपाली मुस्लिम संघसंस्थाका प्रतिनिधिहरूबीच राहत सहयोग तथा आगामी मानवीय अभियानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपालका विभिन्न स्थानमा बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारको अवस्था, उनीहरूका लागि कतारबाट भइरहेको राहत सहयोग तथा आगामी दिनमा सञ्चालन गर्न सकिने मानवीय अभियानका विषयमा प्रतिनिधिहरूले आ–आफ्ना धारणा राखेका थिए।

छलफलका क्रममा कतारमा क्रियाशील विभिन्न नेपाली मुस्लिम संघसंस्थाले हालसम्म बाढीपीडितका लागि उपलब्ध गराएका आर्थिक तथा अन्य सहयोगको विवरण संकलन गरी व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने र आवश्यकताअनुसार सार्वजनिक गर्ने विषयमा सहमति भएको छ।
त्यसैगरी, आगामी दिनमा सञ्चालन गरिने राहत तथा सामाजिक अभियानलाई अझ प्रभावकारी, पारदर्शी र समन्वयात्मक बनाउन संघसंस्थाबीच नियमित सहकार्य र सूचना आदानप्रदानलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको थियो।

आगामी हप्ता बृहत् अन्तरक्रिया कार्यक्रम बैठकले राहत अभियानलाई थप व्यापक बनाउँदै कतारमा क्रियाशील नेपाली मुस्लिम संघसंस्थाहरूको सहभागितामा आगामी हप्ता बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
उक्त कार्यक्रममा हालसम्म विभिन्न संघसंस्थाले बाढीपीडितका लागि गरेको राहत सहयोगको विवरण तथा तथ्यांक संकलन गरी एकीकृत रूपमा सार्वजनिक गर्ने तयारी गरिएको जनाइएको छ। साथै, आगामी मानवीय अभियानलाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा आवश्यक रणनीति तय गरिने बताइएको छ।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले प्राकृतिक विपद्को समयमा पीडित नागरिकको सहयोगका लागि प्रवासी नेपाली समुदाय, सामाजिक संघसंस्था तथा विभिन्न अभियानबीच आपसी सहकार्य, समन्वय र पारदर्शिता अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कतारमा रहेका नेपाली मुस्लिम संघसंस्थाहरूले विपद्को समयमा गर्दै आएको मानवीय सहयोगलाई एकीकृत र व्यवस्थित गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा सामाजिक सेवाका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
