श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान

आशिक हुसैन शेख     

काठमाडौं, १० सेप्टेम्बर २०२६। श्रीलंकाले गत २६ अगस्ट २०२६ मा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई १० लाख अमेरिकी डलर (USD 1 million) बराबरको मानवीय सहायता प्रदान गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि नेपाललाई सहयोग गर्ने श्रीलंका सरकारको प्रतिबद्धताअनुसार उक्त आर्थिक सहयोग उपलब्ध गराइएको हो।

FB_IMG_1789032298875.jpg

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको निर्देशनअनुसार नेपाललाई प्रदान गरिएको सहयोग रकम श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनाललाई हस्तान्तरण गरेकी हुन्।

 

सहयोग रकम हस्तान्तरण गर्दै राजदूत डेल्पिटियाले श्रीलंका सरकार र जनताको तर्फबाट विपद्बाट प्रभावित नेपालीप्रति गहिरो सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गरिन्। उनले विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिन्।

 

श्रीलंकाले उपलब्ध गराएको उक्त आर्थिक सहायता नेपाल सरकारको जारी मानवीय सहायता, राहत तथा पुनःस्थापना एवं पुनःप्राप्तिका प्रयासमा सहयोग पुर्‍याउन प्रयोग गरिने जनाइएको छ। साथै, बाढी तथा पहिरोबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको श्रीलंकाली दूतावासले जनाएको छ।

 

सहयोग हस्तान्तरणले नेपाल र श्रीलंकाबीच रहेको दीर्घकालीन मित्रता, पारस्परिक ऐक्यबद्धता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास पनि व्यक्त गरिएको छ।

 

श्रीलंका सरकारले आगामी दिनमा समेत नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै राहत तथा पुनःप्राप्तिका प्रयासमा आवश्यक सहयोगका सम्भावित क्षेत्र पहिचान गर्ने जनाएको छ।

 

श्रीलंकाली दूतावास, काठमाडौं