सोनमा गाउँपालिकामा किटजन्य रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न

महोत्तरी टुडे     

D k यादव -महोत्तरी टुडे सोनमा,

महोत्तरीको सोनमा गाउँपालिकामा डेंगी र जापानिज इन्सेफेलाइटिस लगायतका किटजन्य रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरूसँगको एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोनमा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो।वर्षायामको सुरुवातसँगै बढ्न सक्ने लामखुट्टेको प्रकोप र त्यसबाट सर्ने घातक रोगहरूलाई नियन्त्रण गर्ने उद्देश्यले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत यो अभिमुखीकरण आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

WhatsApp Image 2026-06-19 at 6.15.22 AM (1).jpeg

गाउँपालिकाका प्रशासन शाखा प्रमुख रामएकवाल साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा सह-संयोजक धर्मेन्द्र कुमार यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा पालिका भित्रका विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा

विशेष सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं प्रशासन शाखा प्रमुख रामएकवाल साहले भन्नुभयो— "वर्षायाम सुरु भएसँगै डेंगी र जापानिज इन्सेफेलाइटिस जस्ता किटजन्य रोगहरूको जोखिम निकै बढेर जान्छ। यस्ता रोगबाट समुदायलाई जोगाउन केवल स्वास्थ्य शाखाको प्रयास मात्र पर्याप्त हुँदैन। त्यसैले गाउँपालिकाका सम्पूर्ण शाखा, स्थानीय जनप्रतिनिधि र आम नागरिक एकजुट भएर आफ्नो घर र समुदाय वरपर लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने अभियानमा लाग्नुपर्छ। पालिकाका सबै स्वास्थ्य चौकी प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा औषधि र जनशक्तिको उचित व्यवस्थापन गर्दै नागरिकलाई सचेत गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

"त्यस्तै, विशिष्ट अतिथि एवं शिक्षा सह-संयोजक धर्मेन्द्र कुमार यादवले विद्यालय क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्नेमा जोड दिँदै भन्नुभयो— "विद्यालय उमेरका बालबालिकाहरू यस्ता किटजन्य रोगको उच्च जोखिममा हुन्छन्। त्यसैले सबै विद्यालय प्रशासन र शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई सचेत गराउँदै विद्यालय हाता र खेलमैदान वरपर जमेको पानी हटाई लामखुट्टेको वासस्थान तत्काल नष्ट गर्न म हार्दिक आग्रह गर्दछु। शिक्षा शाखाले विद्यालयस्तरमै खोजौँ र नष्ट गरौँ अभियान चलाउन पूर्ण समन्वय गर्नेछ।

WhatsApp Image 2026-06-19 at 6.15.23 AM.jpeg

"अभिमुखीकरणमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूले डेंगी र जापानिज इन्सेफेलाइटिस रोगका लक्षण, यसबाट बच्ने उपाय र समुदाय स्तरमा लामखुट्टेको वासस्थान नष्ट गर्ने स्थलगत विधिको बारेमा प्रकाश पारेका थिए। सहभागी स्वास्थ्य चौकी प्रमुखहरूले आ-आफ्नो कार्यक्षेत्रमा जनचेतनामूलक अभियानलाई तीव्रता दिने निर्णय समेत गरेका छन्।