कतारमा नेपाली श्रमिक लक्षित जनचेतनामूलक कार्यक्रम हुँदै, सहभागिताका लागि अपिल
दोहा, कतार । नेपाली श्रमिक कल्याणकारी संघ, कतारले नेपाली श्रमिकहरुलाई स्वास्थ्य, कार्यस्थल सुरक्षा, मानसिक स्वास्थ्य, श्रमिक अधिकार तथा वित्तीय व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम भोली आयोजना गरिएकोले आयोजकले सहभागिताका लागि कतारमा रहेका नेपालीहरुलाई अपिल गरेको छ ।
‘श्रमिकका लागि श्रमिक’ भन्ने मूल नाराका साथ भोली ( सेप्टेम्बर ११ ) शुक्रबार बिहान १० बजे पर्लिङ सिजन इन्टरनेसनल स्कुल, मन्दिरा, अल मुन्तजामा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रममा अत्यधिक गर्मीबाट हुने स्वास्थ्य समस्या र त्यसको समाधानबारे निशा पराजुली, श्रमिकका हक–अधिकार तथा श्रम कानुनबारे हामिद खान, तनाव व्यवस्थापनमा योगको भूमिकाबारे रामप्रसाद लुइँटेल, वित्तीय साक्षरताबारे बिरेन्द्र महरा तथा स्वास्थ्यसम्बन्धी विषयमा नर्स खतिजा खातुनले प्रशिक्षण दिने बताईएको छ ।
त्यस्तै, सहभागीका जिज्ञासा तथा प्रश्नको सम्बोधनका लागि प्रश्नोत्तर सत्रसमेत राखिएको छ। उक्त सत्रको सहजीकरण बिमल सुवेदीले गर्ने बताईएको छ ।
कार्यक्रमका संयोजक तथा नेपाली श्रमिक कल्याणकारी संघ, कतारका वरिष्ठ उपाध्यक्ष सुरत शाहीका अनुसार नेपाली श्रमिकलाई स्वास्थ्य, सुरक्षा, मानसिक स्वास्थ्य, श्रमिक अधिकार र आर्थिक व्यवस्थापनका विषयमा व्यवहारिक जानकारी प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो।
कार्यक्रमलाई बी.डब्ल्यू.आई. तथा श्रमिक सहयोग तथा बीमा कोषको सहयोग रहेको आयोजकले जनाएको छ। कतारमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले गर्मीजन्य स्वास्थ्य समस्या, कार्यस्थलको जोखिम, मानसिक तनाव, श्रमिक अधिकार तथा आर्थिक व्यवस्थापनबारे नियमित सचेतना आवश्यक रहेको पाईको आयोजकको बुझाई छ ।
संघले कार्यक्रममा कतारमा कार्यरत नेपाली श्रमिक, विभिन्न संघ–संस्था तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
